कांग्रेस हुम्लाको बैठक खार्पुनाथ शिवालयमा बस्ने

सिमकोट – कांग्रेस जिल्ला कार्यसमितिको बैठक खार्पुनाथ गाउँपालिका– ५ को शिवालयमा बस्ने भएको छ। पवित्र धार्मिकस्थल भएका कारण कांग्रेस हुम्लाले पहिलो पटक सदरमुकाम सिमकोटबाहिर जिल्ला कार्यसमितिको बैठक उक्त स्थानमा राखेको हो।

कांग्रेस उपसभापति वसन्त रोकायाले धार्मिक स्थलमा जिल्ला कार्यसमितिको बैठक सञ्चालन गर्दा सकारात्मक सन्देश जाने ठहर पार्टी बैठकले गरेअनुसार यस पटकको नियमित बैठक खार्पुनाथ शिवालय क्षेत्रमा गर्न लागिएको बताए।

बैठक शनिबार दिउँसो १ बजेका लागि राखिएको छ। सबै पार्टी कार्यालयमा मात्र गर्नुभन्दा बढी जिल्लाका चर्चित स्थानमा बैठक राख्दा उपयुक्त हुने देखिएकाले राखिएको उनले बताए।

यसपछि कांग्रेसको बैठक रलिङ गुम्बा र आगामी असोजमा लाप्चा क्षेत्रमा पार्टीको बैठक राख्ने कार्यतालिका कांग्रेसले बनाएको छ।

यसका लागि जिल्ला कार्यसमितिका सबै पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलाई अनिवार्य बैठकमा उपस्थित हुन पत्राचार गरिएको छ।

मंसिर १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्