राजनीतिक दलका कारण गणतन्त्रमा प्रश्नचिह्नः डा. कोइराला

मोरङ – कोसी प्रदेशमा बजेटपछि सरकारले गति लिने कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन्।
विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रतिनिधि सभा सदस्य डा. कोइरालाले सरकारलाई धेरै दिन अन्योलमा राख्न नहुने हुँदा बजेटभन्दा पछि सरकार बनाउन सुझाव दिए।

एमालेलाई प्रदेश सरकार सहमतीय बनाउन सुझाव दिँदै आएको बताएका नेता कोइरालाले भने, ‘म त पहिलेदेखि नै भन्दै छु, सहमतिको सरकारमा जाऊँ। एमालेलाई सरकार नछाड्नुस् भनेको हो। मिलेर अघि बढौँ भनेको। उहाँहरूबीच पनि कठिनाइ होला।’

सामाजिक सञ्जाल टिकटक बन्द गर्न नेपाल सरकारले अघि सारेको कदमबारे नेता कोइरालाले यसलाई नियमन गर्न आवश्यक रहेको बताए।

सरकारले टिकटकको नियमन गर्न सक्नुपर्नेमा जोड दिँदै कोइरालाले भने, ‘नियमन गर्ने उपाय त छन् नि हामीसँग। नियमन नगर्ने अनि तिहारसँगै हठात्मा सरकारले टिकटक बन्द गर्नु गैरजिम्मेवार कुरा हो। तर, अब अदालतले जे गर्ला, अदालतको निर्णय त मानेकै छाँै।’

अहिलेको अवस्थामा नागरिक निरास भएको बताएका नेता कोइरालाले गणतन्त्र आफैँमा खराब नभएको प्रस्ट पारे। उनले भने, ‘गणतन्त्र राम्रो व्यवस्था हो। तर, राजनीतिक दलकै कारण गणतन्त्रमा प्रश्न चिह्न लागेको मात्रै हो।’

कोसी प्रदेशका सांसदले कांग्रेसलाई जोगाएको बताएका उनले भने, ‘अहिले नेतृत्वहरुले प्रदेश माओवादी दिँदा कांग्रेसीजनको अनुहार कस्तो हुन्थ्यो। त्यो हामीले बुझ्न सकेनाँै। हामी सशक्त रहिरहँदा हामीले त्यसलाई नजरअन्दाज गरेका हौँ। म यहाँको माननीयज्यूहरूलाई नमन गर्छु।’

प्रधानमन्त्रीले विराटनगरमा भोट माग्दै गर्दा जातीय राज्य दिने अभिव्यक्ति दिएको संस्मरण गर्दै नेता कोइरालाले भने, ‘सरकार अराजक भएर बोल्दै जाने। प्रधानमन्त्रीजी विराटनगरमा बोल्नुभयो। अराजक बोल्दै हिँड्नुभन्दा सरकारलाई सुधार गर्दै अघि बढ्नुपर्‍यो।’

मंसिर १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्