संघीय संसद एकअर्कालाई गाली गर्ने थलोमा परिणत भयोः चन्द्र भण्डारी

काठमाडौँ – कांग्रेस सांसद डा. चन्द्र भण्डारीले संघीय संसद एकअर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गरेका छन्।
रुपन्देहीमा शुक्रवारबाट सुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव–२०८० को उद्घाटन समारोहमा उनले संघीय संसद गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानुन बनाउने कामले पूर्णता पाउन नसकेको तर्क गरे।

सांसद भण्डारीले मुलुकमा लुटतन्त्र र अराजकता बढ्दै गएको उल्लेख गर्दै यसलाई धेरै दिन रहन नदिने चेतावनीसमेत दिए। वरिपरि जनतालाई गरिब बनाएर, लिलामीमा राखेर बीचको ठूलो घर सुरक्षित हुनै नसक्ने उल्लेख गर्दै उनले विगतमा जे भए पनि अब अराजकता मुलुकमा धेरै दिन रहन नदिने बताए। सांसद भण्डारीले स्थानीय तह राम्रो भए पनि काम गर्नका लागि बजेट अभाव रहेको पनि बताए।

उनले भने, ‘हामीले बनाएको स्थानीय तह एकदम राम्रो छ । कहिले को आउँछ, कहिले को आउँछ तर यो जनताको सबैभन्दा नजिकको छ। तर, यससँग बजेटको कमी छ। यहाँ टयाक्स उठाउm भने अर्कोचोटी भोट दिँदैन। हामीले अधिकार सम्पन्न गरेका छौं। तर ऐन, कानुन पूरा बनाउन सकेका छैनौं। सदनमा झगडा हुने हो। एकले अर्कालाई गाली गर्ने मात्रै हो। गुनासो मात्रै हो। मुलुक कसरी बनाउने भन्ने कुरा एकदम गाह्रो छ। मुलुुक यसरी बन्छ, मुलुक यसरी बनाउनुपर्छ। यति कलिला मेयरहरुको भन्दाभन्दै कपाल फुल्छ कि भन्ने मलाई डर छ। यस्तो स्थिति छ। यसलाई अब हामीले बनाउनुपर्नेछ। संविधान त राम्रो बनायौं। अहिले व्यापारी, उद्योगपति, किसान सबैभन्दा बढी मर्कामा छन्।’

सांसद भण्डारीले व्यापारी, उद्योगपति र किसान मुलुकमा सबैभन्दा बढी मारमा परेकाले उनीहरुलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको बताए।

मंसिर १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्