दिनभरिका १० मुख्य समाचार

बर्दियाको गुलरिया नगरपालिका–५ स्थित सुहेलवामा हत्या अभियोगमा आठ जना पक्राउ परेका छन्। गुलरिया नगरपालिका २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, १९ वर्षीय दिपेश बुढामगर, १९ वर्षीय सन्दिप थारु, दिनानाथ चौधरी लगायतलाई पक्राउ गरेको हो। कात्तिक २६ गते राति २३ वर्षका वरुण घिमिरेलाई पुरानो रिसईबीका कारण हत्या गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

000

चिसोका कारण जाजरकोट भूकम्प पीडित दुई जना वृद्धको मृत्यु भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो।

000

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा प्रहरी समायोजन ऐन कार्यन्वयनमा आउने उद्घोष गरेका छन्। पछिल्लो केही दिन ऐन कार्यन्वयनका लागि लगातार प्रहरी र गृहमन्त्रालयसँग छलफलमा जुटिरहेको उनले बताएका छन्।

000

नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन्। मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध रिट निवदेन दायर गरिएको हो। रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ।

000

तिहारको सार्वजनिक बिदापछि मुलुकभरका सरकारी कार्यालय खुले पनि चहलपहल  भने कम भएको छ । तिहारको लागि कात्तिक २६ देखि ३० गतेसम्म सार्वजनिक बिदा परेको थियो। शुक्रबार कार्यालय खुले पनि भोलि शनिबार बिदा र आइतबार छठ पर्वको सार्वजनिक बिदा परेकाले चहलपहल कम देखिएको हो।

000

मिथिला क्षेत्रमा छठपर्वको व्रत विधिवत रुपमा सुरु भएको छ। आज ब्रतालुले नहाय खाय गर्दैछन्। ब्रतालुले शनिबार निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन्।

000

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ। रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार गत निर्वाचनको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि रास्वपा शनिबारदेखि सोमबारसम्म जनताको घरदैलो जाने भएको हो।

000

बुद्धको जन्मस्थल लुम्बिनीमा ३० करोड लगानीमा रसियन गुम्बा निर्माण गर्न लागिएको छ। एक सय आठ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको गुम्बा निर्माण थालिएको हो।

000

राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआई मेसिन र रिहाब सेन्टर नहुँदा बिरामीमा समस्या पर्दै आएका छन्। हाल ट्रमा सेन्टरमा उपचारका लागि आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन हुने गरेको सेन्टरका निर्देशक बद्री रिजालले जानकारी दिए।

भारतकी व्यावसायिक स्काई डाइभर शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’गरेर विश्व कीर्तिमान कायम गरेकी छिन्। कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वर्ड रेकर्डमा दर्ता गराएकी हुन्।

मंसिर १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्