छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै

जनकपुरधाम- मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व छठ पर्वको दोस्रो दिन शनिबार खरमा विधि गरिँदै छ।

शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको छठको पहिलो दिन ‘नहाय-खाए’ गरिएको थियो।

छठको दोस्रो दिन आज दिनभर उपवास बसी राति खीर बनाई देउतालाई चढाएर व्रतालुहरू खान्छन्, यस विधिलाई ‘खरना’ भनिन्छ।

त्यस्तै, छठको मूल दिन आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट सोमबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई छठ पर्वको विधिवत रूपमा समापन गरिन्छ।

छठका लागि घाटको सरसजावट अन्तिम चरणमा पुगेको छ। स्थानीयहरू पोखरी, नदी, कुवा लगायतका स्थानलाई झकिझकाउ बनाउँदैछन्। घाट निर्माण तथा टेन्ट लगाउने काम सम्पन्न भइसकेको छ भने अहिले झिलिमिली बत्ती लगाउने काम जारी रहेको छ।

जनकपुरधाममा गंगासागर, दशरथ तलाउ, अरगजा सरलगायत दर्जनौँ पोखरीमा छठ पर्व मनाइने गरिन्छ।

छठ पर्व घरेलु उत्पादनमा निर्भर रहेकोले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामललगायतको व्यवस्था गरेर त्यसलाई धोई पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पीठोबाट छठका सामग्रीहरू बनाइने गरिन्छ।

संस्कृतिविद् रामभरोस कापडीले छठमा चढाइने वस्तुको शुद्धता नै यस पर्वलाई अन्य पर्वभन्दा फरक तुल्याएको बताउँछन्।

यस पर्वमा सामान्य रुपमा नभै पूर्ण चोखोपनाले सतर्कतापूर्वक चामल, गहुँलाई केलाएर, धोएर, सुखाएर, पिधेर राखिने गरेको र यो चोखोपनाको विशिष्ट पक्षले नै यस पर्वलाई अन्य पर्वभन्दा फरक बनाएको कापडीले स्पष्ट पारे।

छठ पर्वका लागि अहिले बजारमा चहलपहल बढेको छ। बजारमा बाँस र माटोबाट बनेका सामग्रीहरूको जताततै बिक्री भइरहेको छ।

छठ पर्वमा माटोबाट बनेका घैँटो, हात्ती र बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतिलगायतको सामग्री प्रयोग हुन्छ।

मंसिर २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्