लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्ने धार्मिक पर्यटक बढे

लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्दै पर्यटकहरू। तस्बिर: राजन रावत/देश सञ्चार

सिमकोट- नेपाली भूमी लाप्चाबाट मानसरोर कैलाशको दूरदर्शन गर्ने बाह्य र आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको पाइएको छ।

सिमकोटबाट लाप्चासम्म कच्ची सडक जोडिएपछि पर्यटकहरूको सङ्ख्या वृद्धि भएको हो।

नाम्खा गाउँपालिका- ६ को हिमालपारीको गाउँ लिमीका वडा अध्यक्ष पाल्जाेर तामाङले यस वर्ष हालसम्मकै बढी पर्यटकहरूले लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गरेको बताए।

भदौ तेस्रो साताबाट कात्तिक महिनासम्म एक हजार ४१४ जना बाह्य र आन्तरिक पर्यटकहरू लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गरेका छन्।

जम्मा लाप्चा पुगेर दर्शन गर्ने पर्यटकहरूमध्ये डेढ सय जना बाह्य पर्यटकहरू रहेका छन्।

सिमकोटबाट लाप्चासम्म यातायातका साधन सञ्चालन हुने भएको कारण पनि पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको हो।

जिल्लाका सरकारी कार्यालयमा कार्यरत अधिकांस कर्मचारीहरूले समेत यस वर्ष लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गरेका छन्।

पर्यटककाे सङ्ख्या बढेसँगै हाेटल व्यवसाय तथा व्यापार पनि बढेकाे स्थानीय बताउँछन्।

कर्णाली प्रदेशका तीनजना मन्त्रीहरूले समेत असोज महिनामा लाप्चा पुगेर कैलाश मानसरोवरको दर्शन गरेका थिए। सदगुरुसहित पचास जनाको टोलीले पनि लाप्चा पुगेर पूजा गरेका थिए।

कांग्रेस नेता विमलेन्द्र निधि र कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको टोलीले समेत दर्शन गरेको थियो।

विगत तीन वर्षयता लाप्चा पुग्ने पर्यटकहरूमा पहिलो वर्ष ५४८ जना थिए भने गत वर्ष एक हजार १७५ जना पुगेका थिए। यो क्रम बर्सेनि वृद्धि भइरहेको छ।

मंसिर २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्