रोगबाट बच्न बेलैमा स्वास्थ्य परीक्षण गरौँः उपप्रमुख डंगोल

काठमाडौँ – काठमाडौं महानगपालिकाकी उपप्रमुख सुनिता डंगोलले विभिन्न रोगबाट बच्न समयमै आफ्नो स्वास्थ्य परीक्षण गराउन आग्रह गरेकी छिन् ।

काठमाडौँ महानगरपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविरमा उपप्रमुख डंगोलले त्यस्तो आग्रह गरेकी हुन् ।

शनिवार पण्डित निष्ठानन्दको शालिक परिसर नःबहिल, ओमबहालमा एक दिने निःशुल्क स्वासथ्य शिविर सञ्चालन भएको हो ।

विश्व मधुमेह दिवस, २०२३ को अवसरमा आयोजित निःशुल्क शिविरको अवलोकनका लागि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको उपस्थिति रहेको थियो ।

शिविरको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रमुख डंगोलले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी रहेको भन्दै बेलैमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिइन् ।

उनले मधुमेहलगायतका रोग जीवनशैलीसँग जोडिने रोग भएकाले सबै सचेत हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘नेपाल मधुमेही समाजको विशेष कार्यक्रमअन्तर्गत आज हामी संस्थामा नै भिजिट गर्न आएका छौँ । काठमाडौं महानगरपालिकाले पनि नेपाल मधुमेह समाजसँग सहकार्य गरी थुप्रै कार्यक्रम गरिरहेका छौँ । अहिले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी देख्न सक्छौँ । यस्ता रोग जीवनशैलीसँग जोडिएको रोग हो । यस्तोमा मान्छेलाई सचेत गराउनुपर्छ ।’

यस वर्ष ‘जोखिम बुझौँ, सजगता अपनाऔँ’ भन्ने नारासहित विश्व मधुमेह दिवस मनाइँदैछ ।

मंसिर २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्