गायिका कोमल ओलीलाई मातृशोक

काठमाडौं- चर्चित गायिका, एमाले नेतृ तथा पूर्व राष्ट्रियसभा सदस्य कोमल ओलीलाई मातृशोक परेको छ।

उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो। उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन्।

हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार ओलीको केही सातायता अल्का अस्पतालमा उपचार भइरहेको थियो।

१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले संकलन गरेको ‘मलमलकिरी जुनकिरी’ नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो।

दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन्।

दीपा-ललित ट्रष्टकी संरक्षक रहेकी दीपा ओली २०४३ सालमा राप्ती अन्चल महिला संगठनमा उपसभापति भएकी थिइन्। उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन् ।

उनका श्रीमान, दुई छोरा र दुई छोरी छन्।

मंसिर २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्