कांग्रेस हुम्लाको बैठक खार्पुको शिव मन्दिरमा सम्पन्न ( फोटो फिचर)

सिमकोट – कांग्रेस जिल्ला कार्यसमितिको बैठक खार्पुनाथ गाउँपालिका– ५ खार्पुको शिव मन्दिर परिसरमा सम्पन्न भएको छ। पवित्र धार्मिक स्थल शिव मन्दिरको ऐतिहासिक र पर्यटकीय महत्वको प्रवद्र्धन गर्न कांग्रेसले बैठक सो स्थानमा राखेको हो।
कांग्रेस हुम्लाका कावा सभापति कैलाश भण्डारीको सभापतित्वमा सम्पन्न बैठकमा उनले खार्पुको शिव मन्दिरको महत्व महाभारत कालसँग जोडिएकाले यसको प्रवद्र्धन गर्न कांग्रेस बैठक शिवमन्दिर क्षेत्रमा राखिएको बताए।

बैठकमा मात्र कांग्रेस सीमित नभएर अब पर्यटकलाई यो मन्दिरको महत्व, ऐतिहासिक पक्षबारेमा जानकारी गराउन लाग्ने उनले बताए।

बैठकमा कांग्रेस उपसभापति वसन्त रोकायाले शिव मन्दिर क्षेत्रको पूर्वाधार विकास गरेर पर्यटकलाई आकर्षित गर्ने कार्यका कांग्रेस लाग्ने बताए।

उनले खार्पु क्षेत्रमा विभिन्न ऐतिहासिक र धार्मिक महत्वका कुरा भएका कारण यसलाई बाहिर उजागार गर्नुपर्ने बताए। कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले शिवालय क्षेत्रको स्वरुप नै परिवर्तन गर्ने पक्षमा गाउँपालिका लागेको र अब यसको प्रचार प्रसारको काम बाँकी रहेको बताए।

शिवालय क्षेत्रको विकासका लागि हाल विभिन्न पूर्वाधार विकासका काम भइरहेको तर पर्यटन मन्त्रालयबाट आउनुपर्ने बजेट नआएकाले काम सुस्तगतिमा भइरहेको बताए।

कांग्रेस हुम्लाकी कोषाध्यक्ष बबिता शाहीको समेत सहभागिता रहेको जिल्ला कार्य समितिको बैठकमा शिव मन्दिरबारे विभिन्न ब्यक्तिले जानकारी गराउने काम गरेका थिए।

बैठक तीन घण्टासम्म सञ्चालन भएको थियो। जिल्ला कार्यसमिति र कांग्रेस खार्पुनाथ गाउँपालिकाको कार्य समितिका पदाधिकारी, सदस्य, जनप्रतिनिधिको सहभागिता छ। बैठकले खार्पुनाथ शिवालय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पार्टी लाग्ने निर्णय गरेको छ। कार्यक्रममा कांग्रेस ख नम्बर प्रदेशका सभापति भरतजंग शाही, ४ नम्बर वडाकी वडाध्यक्ष रंगमति शाहीलगाएयत सहभागी थिए।

पवित्र धार्मिक स्थल भएका कारण कांग्रेस हुम्लाले पहिलो पटक सदरमुकाम सिमकोटबाहिर जिल्ला कार्यसमितिको बैठक उक्त स्थानमा राखेको हो।

 

मंसिर २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्