लेखिने नेपाली भाषाको समस्या र त्यसमा सुधारको आवश्यकता

विषयप्रवेश

नेपाली मातृभाषा भएका र उच्चशिक्षा पाएका व्यक्तिहरूसमेत प्रचलित नेपाली व्याकरणअनुसार शुद्ध भनिएको वर्णविन्यास पच्छ्याएर लेख्न प्रायः असमर्थ देखिन्छन् । त्यसले गर्दा धेरैजसो नेपालीले नेपाली भाषामा आफ्नो भावना व्यक्त गर्न असमर्थ हुन परिरहेको विडम्बनापूर्ण स्थिति आइपरेको छ । यसको कारण के होला भनेर राम्ररी विचार गर्दा बोलिचालीअनुसार लेख्न नपाइने, लेखिने नेपाली भाषाका कृत्रिम नियमअनुसारै लेखे मात्र शुद्ध हुने भनिएकाले यसो भएको हो भन्ने देखिन्छ । एसले सारा नेपालीहरूलाई दुःख दिइरहेको कुरा स्पष्ट हुन्छ । बोलिचालीको भाषा नै जीवन्त भाषा हो र त्यसैलाई बुझाउनका निम्ति लिपिको विकास भएको हो । त्यसैले लिखित भाषाले बोलचालकै भाषाको सकेसम्म अनुगमन गर्ने गर्नु भाषाशास्त्रीय र व्यावहारिक दृष्टिले समेत उपयुक्त हुने देखिन्छ । अचेल यस विषयमा केही सुधार भएको पनि छ । यस विषयमा गत वर्ष  पनि (२०७९।८।८) नेपाली भाषा-लेखाइमा सुधार आवश्यक भन्ने शीर्षकको लेखमा केही चर्चा गरिएको थियो । अहिले हाम्रा पिताजी शिवराज आचार्य कौण्डिन्न्यायनले (१९९७–२०७४) यस विषयमा आजभन्दा ठिक ५६ वर्षअगि २०२४।८।२।७ मितिका गोर्खापत्रमा“लेखिने नेपाली भाषाको समस्या”भन्ने“जिम्दो नेपालि भासा” अभियानको पहिलो लेख छपाएर केकस्ता महत्त्वपूर्ण विषयहरू जनसमक्ष प्रस्तुत गर्नुभएको थियो भन्ने कुरा यहाँ जस्ताको तस्तै दिइएको छ । यसै लेखलाई केही परिष्कारका साथ उच्चारणअनुसार बनाएरजिम्दो नेपालि भासा (पैलो खण्ड) मा २०३० संवत्मा पनि छापिएको छ– 

लेखिने नेपाली भाषाको समस्या

नेपालमा राष्ट्रभाषाका बारेमा झगडा छैन । सयकडा एकाउन्न नेपालीहरुको मातृभाषा नेपाली नेपालको राष्ट्रभाषा छ । तर लेखिने नेपाली भाषाका सम्बन्धमा भने यहाँ आपसमा बाझ्ने मतहरु देखिएका छन् । ती मतहरुको जाँच गर्नु आवश्यक देखिन्छ।

तेस(त्यस)मा एक थरिको मत केही व्याकरणीहरुलाइ प्रामाणिक मानेर बोलिने भाषासित नमिल्ने, लेखाइमा समानता ल्याउने मात्रै ध्येयले बनाइएका केही बन्देजहरु मानेर लेख्ने भन्ने छ।

एस (यस) सम्बन्धमा नमुनाका निम्ति व्याकरणीहरुका केही भनाइ तल लेखिएका छन्–

“ह्रस्व अकारांत शब्द नै हलन्त शब्दका बराबर उच्चारण गरिन्छन, तेस उसले गोरखाभाषामा पनि हलन्त शब्द मानेको छैन ।” –विश्वमणि आ.दी. (गोरखाव्याकरणबोध, पृ.४) ।

“भाषाका शब्द हलन्त हुँदैनन् ।” –हेमराज शर्मा (चन्द्रिका, दोस्रो प्रकाश, पृ.१३०) ।

“खुट्टा काटी उच्चारण होस् या नहोस् खुट्टा ।
काट्नै हुन्न लबजको अन्त्य वर्णको ता ।।” – गोपाल पाँडे“असीम”।

जुन बोलिने नेपाली भाषामा ह्रस्व अकार अन्त्यमा हुने शब्दहरु ज्यादै नै थोरै छन् त्यहाँ हलन्त उच्चारण हुने ती सप्पैजसो शब्द अकारान्त लेख्न पर्ने बन्देज छ । हलन्त उच्चारणलाइ हलन्त उच्चारण पनि नभनेर “हलन्त-बराबर उच्चारण” पनि भनिएको छ । ह्रस्व-दीर्घ लेख्ने बन्देजहरु पनि एस्तै छन् । नेपाली भाषाका सप्पैजसो इकारहरु उच्चारणमा ह्रस्व छन्, धेरैजसो त ह्रस्वभन्दा पनि छोटा भएका छन् (अगिल्लो स्वरसित एकवर्णवद्भाव भएका छन्), तर धेरैजसो अन्त्य इकार दीर्घ लेख्न पर्ने बन्देज छ । बोलीमा एउटै स-श्रुति भएका ठाममा पनि लेखाइमा तीनथरि सङ्केतको प्रयोग गर्न पर्ने नियम छ । एस्तै बोलिने भाषासित नमिल्ने कपोलकल्पित अरु पनि बन्देज छन् ।

आजभोलि एस्तै नियम मानेर लेखिएको नेपालीलाइ शुद्ध नेपाली भनिन्छ । लेख, पुस्तक-पुस्तिका र पत्र-पत्रिका आदि तेस्तै बोलिने भाषासित नमिल्ने बनावटी नियमहरु मानेर लेखिन्छन् र छापिन्छन् ।

एस्ता बनावटी नियमहरु कसरी केका आधारमा धेरैले माने होलान् भन्ने कुरामा चारोटा मुख्य जबाफ फेला परे ।

तीमध्ये पैलो यो हो–  पहिल्यै-पहिल्यैको समयमा संस्कृतका विद्वान्‌हरु मात्रै नेपालीमा शुद्धाशुद्धिको व्यवस्था दिन सक्ने हुनु । संस्कृतका विद्वान्‌हरुले लेखेका नेपालीमा संस्कृतबाट तत्सम र तद्भव रूपमा शब्दहरु प्रशस्तै आउनु स्वाभाविकै हो । तेस्ता शब्दहरुमा हलन्त-अदन्त (व्यञ्जनान्त र अकारान्त), ह्रस्व-दीर्घ र श-ष-स आदि संस्कृतमा जस्तोजस्तो लेखिन्छ उस्तै लेख्नु पनि संस्कृतका विद्वान्‌हरुका निमित्त स्वाभाविक नै हो । केही शब्दमा अलिअलि फरक परे पनि लेख्दा संस्कृतैअनुसार लेख्नु पनि उस्तै कुरो हो । तेसमा पनि नाम-शब्द र विशेषण-शब्दहरु संस्कृतका धेरै प्रयुक्त हुने हुँदा नाम-शब्द र विशेषण-शब्दहरुमा उच्चारणको वास्ता नगरी ह्रस्व-दीर्घ, हलन्त-अदन्त लेख्ने आदि बनावटी बन्देज लगाउनु संस्कृतका विद्वान्हरुका निमित्त अत्यन्त आवश्यक भयो, किनभने लागेको बानी छुटाउन सबैलाइ गारो हुन्छ । एसको प्रभाव सप्पैजसो नेपाली शब्दहरुमा पर्‍यो।  संस्कृतमा स्त्रीलिङ्गका इकारान्त सप्पैजसो शब्द दीर्घान्त हुने हुँदा नेपालीमा पनि “दीर्घ ई अन्त्यमा हुने शब्द भाषाका स्त्रीलिङ्गी शब्द जम्मै” भन्ने नियम बन्यो । नत्र ह्रस्वभन्दा पनि छोटो उच्चारण हुँदाहुँदै गाइको इकारसदृश भाग दीर्घ ईका रूपमा लेख्न पर्ने कारणै छैन । कुनै पनि भाषामा क्रियापद चाहिँ तत्सम रूपमा सारै थोरै सङ्ख्यामा आएका देखिएकाले नेपाली क्रियापद उच्चारणअनुसार लेख्न संस्कृतका विद्वान्‌लाई असजिलो परेन । अनि क्रियापद उच्चारणअनुसारै लेख्ने नियम बने। अरुहरुले यस्ता नियमहरुको विरोध गरेर नेपाली भाषाको व्याकरण दिन नसकेपछि सबैले एस्तै व्याकरण मान्नै पर्यो ।“नेपाली भाषा प्रकाशिनी समिति”ले एस्तै नियम मानेर पुस्तक छपायो । अनि व्याकरणका तेस्ता नियम पालना गर्ने बानी मान्छेहरुमा बस्तै गयो ।

 दोस्रो जबाफ हो– ने.भा.प्र.स.ले प्रकाशित गरेको ‘नेपाली कसरी शुद्ध लेख्ने?’ भन्ने शब्दविचार-प्रकरणको पुस्तिकामा प्रकाशित तल लेखिएको बेहोराको सूचना–

“सूचना

संवत् १९९९ सालदेखिको परीक्षामा यही नियम बमोजिम शुद्धाशुद्धि जाँचिने छ ।

–श्री प्र.प्र.गो.द.बा.मे.ज. मृगेन्द्रशमशेर ज.ब.रा. एम्.ए. डाइरेक्टर जनरल पब्लिक इन्स्ट्रक्शन नेपाल ।”

सर्कारी जागिर खाने वा प्रामाणिक शिक्षित हुने इच्छाले मानिसहरुले परीक्षा दिनपर्‍यो।  परीक्षा दिँदा माथि लेखिएको सूचनाअनुसार ने.भा.प्र.स.ले मानेका नेपाली भाषा लेख्ने नियमहरु मान्न पर्‍यो।  तेस्ता विद्यार्थीलाइ पढाउने गुरुले पनि ती नियम जान्न पर्ने खण्ड पर्यो। परीक्षक हुनेले पनि ती नियम जान्नै पर्यो । एसरी परीक्षा पास गर्ने शिक्षितहरुमा ने.भा.प्र.स.का नियम मान्ने बानी बस्यो ।

 तेस्रो जबाफ हो– व्याकरणसम्बन्धी नियमहरुका बारेमा सबै मानिसमा चाख नहुनु । व्याकरण साधारण रुचिको विषय हैन । व्याकरणको नाम लिनेबित्तिकै तर्सने पनि कति मानिस भेटिन्छन् । तेस कारणले नेपाली भाषा लेख्ने ती नियमहरुको जाँच गरी उचित-अनुचित छुट्ट्याएर अनुचित नियमहरुको विरोध गर्ने शक्ति र प्रवृत्ति पनि धेरैमा पाइँदैन । अनि त धेरैले नियम मान्ने नै भए ।

 चौथो जबाफ हो– परम्पराको बार । चलिसकेको परम्परा, तेसमा पनि अधिकार पाएका मानिसले चलाएको परम्परा तोड्न गारै पर्ने हुँदा र ती नियमहरुको विवेचना गर्न सक्नेहरुमा पनि व्याकरणका विषयमा चल्ने आफ्नो रुचि नहुँदा जस्ता भए पनि सबैले मानेका नियम मान्दिम्, भैगो, भन्ने भावनाले गर्दा पनि धेरै मान्छेहरुमा ने.भा.प्र.स.ले मानेका नियम मान्ने बानी बस्यो ।

जुन समयमा माथि वर्णन गरिएका खालका नियम बने त्यो समयका शासकहरुको शिक्षा सबैलाइ सुलभ नहोस् र दुनियाँलाइ आफ्नो अधिकारको ज्ञान हुन नपाओस् भन्ने शिक्षा-प्रचार-विरोधी नीतिले पनि शिक्षाको माध्यम भाषालाइ गारो बनाउने खालका बन्देजहरुलाइ प्रोत्साहन मिलेको हो भन्ने पनि त्यो शासन साक्षात् बेहोरेका विचारकहरुको मत पाइन्छ ।

अङ्ग्रेजी वर्णमालाजस्तो दोषपूर्ण वर्णमाला मैले आर्को देखेको छैन । अङ्ग्रेजी स्पेलिङले पनि बिथितिको हुनमा नाम कमाएको छ । एसले अङ्ग्रेज राष्ट्रको र अङ्रग्रेजी भाषा प्रयोग गर्ने अरुहरुको पनि भयानक हानि गरेको छ । अङ्ग्रेजी भाषा बोल्नेहरु धेरैजसो अर्धसाक्षर हुनुको मुख्य कारण पनि एही हो ।

माथि दिइएका कारणहरुले गर्दा र आफ्नो राष्ट्रभाषाको राम्रो व्याकरण नभएर लेखाइमा बिथिति देख्दा आत्मग्लानि भएका राष्ट्रभाषा-प्रेमी मानिसहरुको ‘कुन नियम भए हाम्रा लेखाइमा एकता होला’ भन्ने सारै अत्याहटको इच्छा पुऱ्याउन निस्केको हुनाले पनि बोलिने भाषासित नमिल्ने तेस्तै बनावटी नियम पनि सारै आत्तिएका बिरामीले अज्ञानमा जस्तो ओखती पनि खान मानेझैँ धेरैले माने ।

भाषाका जीवनसित सम्बन्ध नराख्ने कारणहरुले गर्दा स्थिर भएका नियमहरुमा भाषाको जिम्दो धाराको तेति विचार नहुनु अचम्म मान्न पर्ने कुरा हैन । तेस कारणले एस परम्परालाइ छाड्ने मत भएका आर्का थरिले आफ्नु राष्ट्रभाषाको जिम्दो प्रवाहको अल्लि राम्ररी अध्ययन गरी तेसलाइ हित नगर्ने खालका बन्धनहरु हटाउने विचार गरेको पाइएको छ । यो हाम्रो राष्ट्रको उन्नतिको निमित्त अत्यन्त राम्रो कुरो हो । एसै प्रसङ्गमा साधारण शिक्षित व्यक्ति, शिक्षा-विशेषज्ञ, शिक्षकहरु र शिक्षा क्षेत्रका अधिकारीहरुको सम्मति प्राप्त गर्नका लागि यहाँ केही तर्क दिने सुर गरिएको छ ।

अहिले साधारणतया चलिराखेका नेपाली भाषा लेख्ने नियमहरु मानेर लेख्ने परम्परा मानिरहँदा हुने केही सारै डरलाग्दा खतिहरु तल लेखिएका छन्:–

ऐलेको परम्पराअनुसारको शुद्ध नेपाली लेख्न जान्ने हुन नेपाली मातृभाषा नभएका र नेपाली नै मातृभाषा भएका नेपालीहरुलाइ पनि धेरै नै बर्ता समय लाग्छ । भाषाको जिम्दो प्रवाहको अनुकूल नियम बनाई शुद्धाशुद्धिको व्यवस्था गरेमा त्यो समय धेरै नै छोट्ट्याउन सकिन्छ । एसरी बचाउ गर्न सकिने यो बेफुर्सदीको जुगको समय खेर फाल्दा राष्ट्रको ठुलो खति हुन्छ ।

बनावटी नियमहरु विनातर्क पच्छ्याउने बानी बसाल्दा बालकहरुको तर्कशक्तिको विकासमा ठुलो बाधा पर्छ । एसरी राज्यभरिका बालकहरुको तर्कशक्तिको विकासमा बाधा पर्नु साँच्चै नै राष्ट्रको ठुलो खति हो ।

आफूले स्वतन्त्र मौखिक प्रयोग गरिरहेको जिम्दो प्रवाह भएको भाषालाइ बनावटी अवैज्ञानिक नियमहरुले कसेर लेख्ने परम्परा पालन गर्न पर्दा तेस भाषाका प्रत्येक प्रयोक्तालाइ आफ्नु राष्ट्रको पछौटेपन देखेर आत्मलघुताको अनुभव हुन्छ । यो पनि राष्ट्रको ठुलो खति हो ।

सयकडा उनञ्चास नेपालीहरुको मातृभाषा नेपाली छैन । तर उनीहरुमा राष्ट्रियता अझ बढी जगाउन उनीहरुलाइ पनि नेपाली भाषा सिकाउने लक्ष्य राख्नै पर्छ । एस स्थितिमा लेखिने नेपाली र बोलिने नेपालीमा आनकोतान फरक हुँदा तिनीहरुलाइ नेपाली भाषा सिकाउन धेरै नै बर्ता गारो पर्छ । लेखिने र बोलिने नेपाली हुन-सकेसम्म उस्तै भएमा तिनीहरुलाइ नेपाली बोल्न र लेख्न सिकाउन धेरै नै सजिलो पर्नेछ । एसबाट हाम्रो राष्ट्रियतालाइ कति बल मिल्छ त्यो विचार गर्नै पर्ने कुरो हो ।

आफ्ना विचार अरुमा पुर्‍याउने र अरुका विचार बुझ्ने कामका लागि मात्र धेरैजसो मानिसले भाषाको प्रयोग गर्छन् । तेस कारणले हुदाँसम्म थोरैभन्दा थोरै शिक्षा पाएका मानिसले पनि आफ्नु विचार प्रकट गर्न लिखित भाषाको सहजै प्रयोग गर्न सक्ने थिति हुनु अत्यन्त आवश्यक छ । व्यवहारलाइ पनि ध्यानमा राख्दा सप्पै नागरिकहरुले उच्चशिक्षा लिने अवसर पाउँदैनन् अथवा लिन चाहँदैनन् भन्ने कुरो मान्नै पर्छ । प्राथमिक शिक्षा वा माध्यमिक शिक्षा मात्र लिएर आफ्नो पेसामा लाग्ने मानिसहरुलाइ पनि आफ्ना अनुभव र विचारहरु अरुका हृदयसम्म पुऱ्याउन पर्ने हुन्छ । तर अहिले चलिरहेको परम्पराअनुसार शुद्ध भनिने लिखित नेपाली भाषाको प्रयोग गर्न ती सक्तैनन् । अशुद्ध मानिने भाषा लाज र डरले गर्दा धेरै प्रयोगमा आउन सक्तैन । अनि कति उपयोगी विचारहरु उदाउन नपाइकन अस्ताउँछन् । एसले गर्दा राष्ट्रको कति खति हुन सम्भव हुन्छ, यो विचार गर्न पर्ने कुरा हो । कति बी.ए. एम्.ए.हरु नै आजभोलि नेपाली भाषाको प्रयोग गर्ने आँट गर्न सक्तैनन्, अनि अरु भाषामा लेख वा पुस्तक लेख्छन् । कतिले भाषाकै कमजोरीले लेख्ने काममा हात हाल्न सकेका छैनन् । एसरी यी ऐले चलिरहेका नेपाली लेख्ने नियमहरुले मानिसलाइ अलिअलि पढेर आर्काको विचार बुझ्न सक्ने बनाए पनि आफ्नो विचार प्रकट गर्न लिखित भाषाको प्रयोग गर्न नसक्ने अर्धसाक्षर बनाउँछन् । एसरी जनसङ्ख्याको ठुलो भाग अर्धसाक्षर अवस्थामा रहने परिस्थिति पार्ने यो नेपाली लेख्ने परम्परामा साँच्चै नै ठुला-ठुला दोषहरुले डेरा जमाएका छन् ।

ऐले चलिरहेका नियमहरु मानेर लेखिएको नेपालीले देवनागरी लिपिलाइ नेपालीलाइ नसुहाउने साबित गर्न खोज्नेहरुलाइ धेरै नै मद्दत गरेको छ । वास्तवमा धेरैजसो ती दोषहरु लिपिका नभएर लिपिको प्रयोग गर्ने गलत नियमहरुका हुन् ।

माथि लेखिएका दोषहरुको र राष्ट्रको विकासमा भाषा र शिक्षाको महत्त्वको विचार गर्दा नेपाली लेख्ने ऐले चलेका नियमहरु फेर्नु अत्यन्त आवश्यक देखिन्छ ।

तल लेखिएका कारणले गर्दा एसपट्टि जतिसक्यो चाँडो पाइलो चाल्नाले राष्ट्रको हित हुने देखिन्छ ।

ऐलेसम्म (वि.सं.२०२४ सम्म) हाम्रो देशको जनताको साक्षरताको प्रतिशत ११ मात्र छ । अर्थात् लगभग एक करोड नेपालीहरुमध्ये अक्षर चिनेका लगभग ११ लाख र अक्षर नचिनेका चाहिँ लगभग ८९ लाख छन् । तेही ११ लाखमा पनि धेरै सङ्ख्या अर्धसाक्षरहरुको छ । ऐले चलेको नेपाली लेख्ने नियमअनुसार राम्ररी शुद्ध नेपाली लेख्न सक्नेहरुको सङ्ख्या त ५, ६ हजारभन्दा पनि तलै होलाजस्तो लाग्छ । तेसमा पनि आफूलाइ केही दिन असजिलैजस्तो लागे पनि राष्ट्रको हितको निमित्त नेपाली लेख्ने विषयमा बसेको आफ्नु बानी फेर्न सजिलै मान्नेहरु धेरै नै होलान् । केवल अन्दाजी चार-पाँच सय मानिसहरुलाइ त्यो बानी फेर्न अल्लि बर्ता गारो पर्ने र उनीहरुबाट उक्त नियमहरु बदल्ने कुराको अल्लि बढी विरोध हुने सम्भावना छ। तेसमा पनि संस्कृतबाट आएका शब्दहरु संस्कृतमा जस्ता लेखिन्छन् तेस्तै लेख्ने बानी परेका र तेसो गर्न राम्ररी सक्ने मानिसहरुलाइ आफ्नो बानी फेर्न अल्लि बर्ता गारो पर्ने कुरा स्वाभाविक छ । तथापि एस समस्यामा राम्ररी छलफल भएर राष्ट्रको निमित्त नेपालीको लेखाइको सुधारबाट ज्यादै ठुलो लाभ हुन सक्छ भन्ने निर्णय निस्केपछि तेस्ता मानिसहरुबाट पनि उक्त नियम फेर्ने कुराको कडा विरोध हुने छैन, किनभने राष्ट्रको जे गर्दा हित हुन्छ त्यो गर्न पर्छ भन्ने कुरा सबैका मनमा छँदैछ ।

ऐलेसम्म नेपाली भाषामा छाप्पिएका पुस्तकहरुको सङ्ख्या पनि तेति धेरै छैन। मैले देखेभोरिमा नेपाली भाषाका पुस्तकहरुको सङ्ग्रह गर्ने सबैभन्दा ठुलो संस्था मदन पुरस्कार गुठी पुस्तकालयमा पुस्तकहरुको सङ्ख्या पाँच हजार पनि पुगेको छैन। तेसमा पनि धेरै नै पुस्तक ने.भा.प्र.स.का नियमअनुसार नलेखिएका छन् । ती नियम मानेर लेखिएका पुस्तकहरुमा पनि कति त स्थायी महत्त्व नभएका प्रचारका पुस्तिकाहरु छन् । यो भनाइको तात्पर्य उक्त नियम मानेर लेखिएका स्थायी महत्त्व भएका पुस्तकहरुको सङ्ख्या ऐलेसम्म सारै धेरै छैन भन्ने मात्र हो ।

तेस कारणले अब तुरुन्तै यो लेखाइमा सुधार ल्याउने एस कामतिर पाइलो चालिहालेमा तेति धेरै र भयानक समस्याहरुले बाधा गर्ने देखिँदैन । एसको विरोध पनि कमै मानिसहरुले गर्नेछन् । तर हामी जतिजति ढिलाउँछौँ बाधा-अड्काउहरुको सङ्ख्या र भयानकता पनि उतिउति बढ्दै जाने देखिन्छ । किनभने देशमा अनिवार्य प्राथमिक शिक्षा लागु गर्ने काममा हाम्रो सर्कार लागेको छ । शिक्षा सामग्री उत्पादन केन्द्रले धेरैधेरै पुस्तकहरु छाप्दैछ । प्रौढ शिक्षा कार्यक्रमअनुसार पनि अर्धो रूपमा भए पनि साक्षरताको प्रतिशत धेरै बढ्न आँटेको छ । साक्षरता अभियान पनि धेरै थरि संस्थाहरुबाट सुरु भएको छ । हाम्रो राष्ट्रको एकमात्र विश्वविद्यालय (त्रिभुवन विश्वविद्यालय) ले उच्च शिक्षामा पनि नेपाली भाषा नै माध्यम बनाउन ठुलठुला योजना राखेको छ । अरु साहित्यसेवी संस्थाहरुले पनि नेपाली भाषामा धेरै पुस्तकहरु प्रकाशित गर्दैछन् ।  तेस कारणले निकट भविष्यमा नै धेरै नयाँ मानिसहरुको उक्त ने.भा.प्र.स.ले मानेका नियम मान्ने बानी कार्यरूपमा तेति नपरे पनि धारणामा पर्ने छ, तेस्तो बानी पर्न लागेका र परिसकेका मानिसहरुमा पनि त्यो बानीले धेरै जरा गाड्ने छ,ती नियमहरु मानेर लेखिएका पुस्तकहरुको सङ्ख्या पनि धेरै बढ्नेछ । तेस कारणले अब दस-पन्ध्र वर्षपछि नेपाली भाषाको लेखाइमा सुधार गर्ने काममा बाधाहरु धेरै नै बढ्ने छन् । अनि त्यो सुधार गारो भएपछि अङ्ग्रेज राष्ट्रले झैँ हाम्रो राष्ट्रले पनि धेरै कालसम्म ठुलो खति सहन पर्ने हुन्छ । जुनसुकै पनि त्रुटिको मौकैमा सुधार नगरेपछि तेसले डरलाग्दो रूप लिन्छ । तेस कारणले एस समस्यामा राम्ररी छलफल गरौँ, मनन गरौँ, एसलाइ बुझौँ अनि यथार्थ मूल्याङ्कन गरौँ र समाधान निकालौँ। एसमा हार-जितको प्रश्न छैन, यो समस्याको यथार्थ समाधान निस्केमा हाम्रो राष्ट्रको जित हुन्छ, हार चाँहि कसैको हुँदैन, किनभने आफ्नु पक्ष र आर्काको पक्षको यो कुरा हैन, यो कुरा राष्ट्रको पक्षको कुरा हो, राष्ट्रको पक्ष सिद्ध भए हामी सबैको पक्ष सिद्ध भै हाल्छ ।

यहाँ छोटकरीमा केही तर्कको जबाफ दिनु आवश्यक देखिन्छ । समुद्रपारको भाषा अङ्ग्रेजीको एक-एक स्पेलिङ घोकेर जस्ताको तस्तो लेख्न हुने, आफ्नो राष्ट्रभाषामा तेसो गर्न किन नहुने? अंग्रेजीमा Put (पीयूटी) पुट् र Hut (एच्यूटी) हट् जस्ता कुरा सप्पै मान्न हुने, नेपालीमा ह्रस्व-दीर्घका नियम, हलन्त-अदन्त र सकार आदिको भेदआदि उच्चारणसित मिलेनन् भनेर किन यत्रो बखेडा? हिन्दी पनि बोलिन्छ एक किसिमले लेखिन्छ आर्का किसिमले, अङ्ग्रेजीको स्पेलिङको तेही हालत छ, नेपालीमा मात्र तेस्तो हुन किन नहुने? इत्यादि तर्क उठाएको पाइन्छ । हिन्दीको एस्तो समस्याको विषयमा मलाइ राम्रो ज्ञान नभएकाले म मुख्यतया अङ्ग्रेजीलाइ लिएर यी प्रश्नहरुको उत्तर दिन चाहन्छु । अङ्ग्रेजीमा सुधार गर्ने काम हाम्रो राष्ट्रको हातमा नभएकाले हामी तेसमा सुधार गर्न सक्तैनौँ। हामीलाइ अङ्ग्रेजीको खाँचो परेपछि हामीले अङ्ग्रेजले जस्तो बोल्छन् जस्तो लेख्छन् तेस्तो बोल्न र लेख्न सिक्नै पर्यो । नेपाली भाषाको लेखाइमा सुधार गर्ने काम हाम्रै हातको काम हो । तसर्थ राष्ट्रको हितलाइ ध्यानमा राखेर हामीले नेपालीको लेखाइमा सुधार गर्न खोज्नु कुनै अनुचित कुरो हैन । तेस कारण अनावश्यक नियम मानेर राष्ट्रको समय, प्रतिभा र शक्तिको किन अपव्यय गर्ने? राष्ट्रलाइ बल मिल्ने कुरामा किन पछि हट्ने? पुट् र हट् जस्ता कुराका सम्बन्धमा म भन्न चाहन्छु–  जस्तो आर्को व्यक्तिको गल्ती देखेर मानिसले सचेत भै आफूले तेस्तो गल्ती नगर्नु बुद्धिमानी हो तेस्तै आर्को राष्ट्रको गल्ती देखेर तेसबाट शिक्षा लिई अरु राष्ट्रले तेस्तो गल्ती नगर्नु नै बुद्धिमानी हो, अरुको गल्ती देखेर अरु पनि त एस्तो गर्दारछन् भने हामीले पनि तेसो गर्न हुन्छ भन्ने बुद्धि लिनु ठिक होइन । अङ्ग्रेजी वर्णमालाजस्तो दोषपूर्ण वर्णमाला मैले आर्को देखेको छैन । अङ्ग्रेजी स्पेलिङले पनि बिथितिको हुनमा नाम कमाएको छ । एसले अङ्ग्रेज राष्ट्रको र अङ्रग्रेजी भाषा प्रयोग गर्ने अरुहरुको पनि भयानक हानि गरेको छ । अङ्ग्रेजीभाषा बोल्नेहरु धेरैजसो अर्धसाक्षर हुनुको मुख्य कारण पनि एही हो । तेसैले तेसमा सुधार गर्न पनि ठुलठुला पाइलाहरु समय-समयमा चालिएका रहेछन् र चालिँदै पनि रहेछन् । तर ऐले त्यो समस्याको समाधान गर्न अङ्ग्रेज राष्ट्रलाइ ज्यादै गारो परेको छ । ऐलेसम्म अङ्ग्रेज राष्ट्रले एस समस्यासित हार खान परेको छ भने पनि हुन्छ । हाम्रो प्रचलित वर्णमाला अङ्ग्रेजी वर्णमालाजत्तिको दोषी छैन । चाँडै नै पाइलो चालेमा हामीलाइ नेपालीको लेखाइमा सुधार ल्याउन गारो पर्ने देखिँदैन । यहाँनेर अङ्ग्रेजी स्पेलिङको सुधारको अभियानको वर्णन गरेर तेससित नेपाली लेखाइको सुधारको तुलना गर्नु राम्रो हुन्थ्यो, तर तेसो गर्दा लेख धेरै लम्बिने भएकाले तेसो गर्न सकिएन । फेरि उता समस्याहरुको जुन जटिलता छ त्यो यहाँ छैन, हामीलाइ समाधान निकाल्न धेरै नै सजिलो छ ।

एसरी नेपालीको लेखाइमा सुधार गर्नपर्ने कुरामा बल दिँदा सुधार कुन किसिमले गर्ने भन्ने कुरा पनि भन्न पर्ने हो,तर एउटै लेखमा त्यो हुन नसक्ने हुँदा त्यो विषय आर्को पटकलाइ राख्नैपर्यो । सङ्केत रूपमा त एसै लेखले पनि मैले विचार गरेको सुधारको किसिमलाइ औँल्याएकै छ । तेसको पूरा विवरण आर्को लेखमा दिइने छ । वास्तवमा एउटा लेखले मात्र यो विषयमा खोजेको कुरा दिन पनि सक्तैन । तेसका निम्ति त सर्कारको शिक्षा-विभाग वा विश्वविद्यालय वा प्रज्ञाप्रतिष्ठान वा एस्तै अरु कुनै ठुलो संस्थाले एस विषयमा सबै किसिमका विचारहरुको राम्रो प्रतिनिधित्व हुने गरी एस विषयका हुन-सकेसम्म धेरै विद्वान्‌हरुको समिति बनाई तेसमा विवेकपूर्ण छलफल गराएर निर्णय निकाल्न पर्छ । एस कुरामा तेस्ता संस्थाहरुको ध्यान जानेछ र हाम्रो  राष्ट्रभाषा नेपालीको र राष्ट्रको विकासमा तेसबाट ठूलो बल मिल्नेछ भन्ने आशा राखिन्छ ।

उपसंहार

माथिको लेखको अध्ययन गरेर विवेचक व्यक्तिहरूले गतानुगतिक नभैकन स्वाभाविक उच्चारणअनुरूपको नेपाली लेखनलाई सकेसम्म अँगाल्ने र त्यसको महत्त्व बुझ्ने-बुझाउने गर्नु उचित हुन्छ । किनभने यस्तो कार्य बहुसङ्ख्यक भाषाप्रयोक्ताहरूको हितमा हुने पनि देखिन्छ ।विद्यार्थीहरूलाई पनि भाषाको वास्तविक स्वरूपसमेत सिकाउने व्यवस्था हुनुपर्छ । उच्चारणअनुसारको भाषा नै वास्तविक मूल भाषा भएकाले त्यसको पनि सबैले सम्मान गर्नुपर्छ।

मंसिर २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्