मोरङ – छठ पर्वको तयारी विराटनगरमा भव्य रुपमा गरिएको छ। छठ पर्वका लागि विराटनगर महानगरपालिकाले महानगरभित्रका नहर तथा खोला क्षेत्रमा सरसफाइसंगै व्यवस्थापन गरेको छ।

विराटनगरमा मुख्यतः सिंघिया खोला, सुनसरी मोरङ सिंचाइको नहर, केशलिया खोलामा छठ पर्व मनाइन्छ। सोहीअनुरुप महानगरपालिकाले जेसिभीको सहायतामा सरसफाइ तथा व्यवस्थापन गर्दै आएको हो।

विराटनगरको वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपानेले छठ पर्वका लागि नहर क्षेत्रमा तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। सो वडा भएर बग्ने नहरको मुख्य दुई स्थानमा करिब ८० परिवारले पूजा गर्ने अध्यक्ष न्यौपानेले बताए। आउँदो वर्ष जामुनगाछी क्षेत्रबाट झरना चौकसम्म विद्युतीय बत्ती जडान गरिने बताएका अध्यक्ष न्यौपानेले नहरमा पानीको लागि सम्बन्धित निकायसंग समन्वय हुँदै आएको जानकारी दिए।

त्यसैगरि, महानगरपालिकाको ६ नम्बर वडाध्यक्ष अक्षय सहनीले पनि नहरसँगै केशलिया खोलामा सार्वजनिक रुपमा पूजाको व्यवस्था गरेको जानकारी दिए। छठ पूजा समिति बनाएर काम गरिरहेका वडाध्यक्ष सहानीले वडासँगै सर्वसाधारणसँग सहयोग जुटाएर नहर क्षेत्रमा पण्डालदेखि विद्युत्तीय व्यवस्थान गरेको बताए।

करिब ११ हजार जनसंख्या रहेको वडामा ५ हजारले छठ पर्व मनाउने गरेको बताएका अध्यक्ष सहनीले केशलिया क्षेत्रमा व्यवस्थापनका लागि १७ लाख रुपैयाँ खर्च जुटेको बताए। उनले भने, ‘समिति बनाएर काम गरेको छु। वडाबाट १ लाख र बाँकी रकम सरसहयोगबाट जुटाएका छौँ। बिहानबाट नहर र यसको व्यवस्थापनमा लागेको छु। नहर र केशलिया खोला क्षेत्रमा पण्डालदेखि बिजुली बत्ती लगाएका छौँ। यसपटकको छठ पूजा सभ्य र भव्यगराउन तयार छौँ।’

छठ पर्व मनाउने ५ सय १ जना महिला व्रतालुका लागि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सहयोगमा साडी (कपडा) उपलब्ध गराएको सहनीले बताए।

यद्यपि, विगतभन्दा यसपटक छठ पूजाको सरसमानमा महँगो भएको गुनासो गरेका छन्।वडाध्यक्ष सहनीका अनुसार सम्बन्धित निकायले बजार अनुगमन नगरिदिँदा बजारमा हरेक कुरा महँगो भएको छ।

त्यसैगरि, विगत लामोसमयदेखि छठपर्वको व्रत बस्दै आएकी विराटनगर १ की रिना साहले पनि बजारमा महँगी बढेको गुनासो गरेकी छन्। छठका लागि आवश्यक ताजा फलफूलदेखि बाँसको ढाकी, कुनिया, नरिवल, भोगटे, उखुलगायतको मूल्य अघिल्लो वर्षको तुलनामा वृद्धि भएको साहको भनाइ छ।

छठ पर्व लिन कठिन हुने तर भाकल गरेपछि कुरा पूरा हुने विश्वाससहित श्रद्धालुले व्रत लिने गरेको उनको भनाइ छ। बजार क्षेत्रमा पर्वका लागि किनमेल गर्नेको घुइँचो रहेको छ। आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका श्रद्धालु व्रतालुले सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न हुनेछ।

यसका लागि विराटनगरभित्र बनाइएका विभिन्न पूजास्थल नहर, खोला, निजी पोखरी, खेतलगायतका स्थानलाई श्रृंगारिएको छ।