इलाम नगरपालिकाले खेलायो ‘विंगो’

फाइल फोटो

मोरङ – इलाम नगरपालिकाले सामाजिक कार्यका लागि ‘परे पुरस्कार नपरे उपकार’ भन्ने उद्देश्यसहित विंगो खेलाउने गरेको प्रस्ट्याएको छ।

नगरपालिकाको नगर खेलकुद वकास प्रतिष्ठानको अगुवाइमा घटस्थापनादेखि तिहारसम्म सामाजिक कार्यसँगै मनोरञ्जनका लागि विंगो खेलाउँदै आएको छ।

नगर प्रमुख केदार थापाले ६ दशकदेखि सामाजिक कार्यमा सहयोग पुग्ने गरी यसलाई मनोरञ्जनका रुपमा प्रतिष्ठानले आयोजना गर्दै आएको बताए।

विंगो खेलबाट संकलित रकम सामाजिक कार्यमा खर्च हुने बताएका मेयर थापाले इलाम चौकमा पीपी टावर, पत्रकार महासंघको भवन, रेडक्रसको ब्लड बंैक भवन निर्माण, सिटी हल निर्माण, ब्याडमिन्टन हल निर्माण, ठूलो टुडिखेलको स्तरोन्नतिलगायत कार्यक्रममा संकलित रकम खर्च हँुदै आएको बताए। यसपटक विंगोबाट संकलित रकमबारे पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराइने बताएका मेयर थापाले विंगोको रकम विशुद्ध रुपमा सामाजिक कार्यमा नै खर्च हुने गरेको प्रस्ट्याए।

उनले यसपटक संकलित रकमले इलाममा रहेको माईभ्याली फुटबल क्लब, रेडहर्ष फुटबल क्लब, नेपाल ब्याडमिन्टन संघ, तेक्वान्दो संघ, नगर साहित्य कला संगीत प्रतिष्ठानलगायत सामाजिक तथा खेलकुद निकायलाई सहयोग गर्ने जानकारी दिए।

त्यसैगरी, इलामका सहयोगी हातहरू नामक संस्थामार्फत असहाय तथा अशक्त बिरामीलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने उनले बताए।

विंगो खेल आयोजनाबारे आएका समाचारको खण्डन गर्दै मेयर थापाले २०२०÷०२१ सालदेखि नै दसैँ तिहारको अवसरमा विंगो खेलाउन सुरु गरिएको र हाल त्यसलाई निरन्तरता दिइएको बताए।

इलाम नगर खेलकुद विकास प्रतिष्ठानका अनुसार विंगो खेल्नका लागि २० रुपैयाँदेखि १ सय रुपैयाँसम्मको टिकट मूल्य राखिएको जनाएको छ।

सोही टिकटको बिक्रीबाट प्राप्त रकम पुरस्कार व्यस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ। यसक्रममा अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वय र सहयोग रहेको प्रतिष्ठानले जनाएको छ।

मंसिर २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्