दिनभरिका १० मुख्य समाचार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाएका छन्। उनले राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान सिध्याउने कुरामा लागेको पनि तर्क गरेका छन्।

000

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औंलो ठड्याउने काम कहीँकतैबाट पनि नगर्न चेतावनी दिएका छन्। दुर्गा प्रसाईंको नेतृत्वमा यही मंसिर ७ गते काठमाडौँमा हुने प्रर्दशनप्रति संकेत गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमाथि औंलो ठड्याउनेहरुलाई एमालेले तह लगाउने समेत बताए।

000

परराष्ट्रमन्त्री एन पि साउदले विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिकाका विपिन जोशीलाई छुटाउन सरकार गम्भीरतापूर्वक लागेको बताएका छन्। साउदले इजरायल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी दिए।

000

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएको भन्दै त्यसलाई प्रतिवाद गर्नका निम्ति मानसिक र भौतिक रूपमा तयार हुनुपर्ने बताएका छन्। मंसिर ७ गते दुर्गा प्रसाईंसहितका व्यक्तिहरुले काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने नाममा व्यवस्था र संविधानमाथि धावा बोल्ने प्रयत्न भएकोतर्फ उनले इंगित गरेका छन्।

000

उर्जामन्त्री शक्तिबहादुर बस्नेतले हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन शीघ्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्। बस्नेतले सो प्रसारण लाइन निर्माणमा भइरहेको प्रगतिका बारेमा चासो राख्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आवश्यक समन्वय गरेर तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिए।

000

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अराजक अभिव्यक्ति दिँदै आएको बताएका छन्। कोइरालाले मुलुकको प्रधानमन्त्रीबाट अराजक अभिव्यक्ति आइरहेको भन्दै यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन्।

000

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने सबै एउटै मोर्चामा आबद्ध भै निर्णायक संघर्षमा जुट्न आह्वान गरेका छन्। अहिले विभिन्न दल, व्यक्ति र समुह राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा उभिएको र संघर्ष गर्न तयार भएको देख्दा खुसी लागेको पनि थापाले उल्लेख गरेका छन्।

000

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको मुख थुनेर सत्ता नटिक्ने तर्क गरेका छन्। सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयबारे उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्।

000

नेपाली भूमी लाप्चाबाट मानसरोर कैलाशको दूरदर्शन गर्ने बाह्य र आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएका छन्। नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले यस वर्ष हालसम्मकै बढी पर्यटकहरूले लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गरेको बताए।

गायिका, एमाले नेतृ तथा राष्ट्रियसभाकी पूर्व सदस्य कोमल ओलीलाई मातृशोक परेको छ। उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो। हड्डीसँग सम्बन्धित रोगबाट ग्रसित थिइन्।

मंसिर २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्