२० वर्षपछि भारत र अस्ट्रेलिया उपाधिका लागि भिड्दै, कस्ले मार्ला बाजी?

एकदिवसीय विश्वकप २०२३ को सबैभन्दा ठूलो खेल अर्थात फाइनल आज विश्वकै सबैभन्दा ठूलो रङ्गशालामा आयोजना हुँदै छ। उपाधिका लागि आयोजक भारत र पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलियाबीच हुँदै छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दिउँसो २:१५ बजे सुरु हुने खेलको टस टस दिउँसो १:४५ मा हुने छ।

दुवै टोली एक अर्का विरुद्ध दोस्रो पटक प्रतियोगिताको फाइनलमा भिड्दै छन्। उनीहरुबीच यसअघि २००३ को एकदिवसीय विश्वकपको फाइनलमा प्रतिस्पर्धा भएको थियो। जतिबेला कंगारु (अस्ट्रेलिया) १ सय २५ रनले विजयी भयो।

भारत चौथो पटक र अस्ट्रेलियाले आठौं पटक विश्वकपको फाइनल खेल्दै

भारतीय टोली चौथो पटक फाइनलमा खेल्न लागेको छ। यसअघि यो सन् १९८३, २००३ र २०११ मा भारतले विश्वकपको फाइनलमा स्थान बनाएको थियो। अर्कोतर्फ अस्ट्रेलिया भने आठौं पटक विश्वकपको फाइनल खेल्दै छ। विश्वकपकै सर्वाधिक सफल टोली अस्ट्रेलियाले ७ मध्ये ५ फाइनल जितेको छ।

अस्ट्रेलिया विगत २७ वर्षदेखि विश्वकपको फाइनलमा हारेको छैन। टोलीले पछिल्लो २४ वर्षमा सबै ४ वटा फाइनल जितेको छ। फाइनलमा अस्ट्रेलिया अन्तिम पटक सन् १९९६ मा श्रीलंकासँग पराजित भएको थियो।

हेड टु हेड

दुवै टोलीहरू अन्तिम पटक यो विश्वकपको 5 औं लिग खेलमा भिडेका थिए। चेन्नईमा भएको उक्त खेलमा भारतले ६ विकेटको जित निकाल्यो।

भारत र अस्ट्रेलियाबीच हालसम्म कूल १५० ओडीआई खेल भएको छ। भारतले ५७ खेल जितेको छ भने अस्ट्रेलियाले ८३ खेल जितेको छ। १० खेल विनानतिजा सकिएको छ।

जारी प्रतियोगितामा अपराजित भारत

भारतीय टिम विश्वकप २०२३ मा एउटा पनि खेल नहारेको एक मात्र टोली हो। टोलीले लिग चरणका सबै ९ खेल जितेको थियो। भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराउँदा त्यसपछि अफगानिस्तानलाई ८ विकेटले, पाकिस्तानलाई ७ विकेटले, बंगलादेशलाई ७ विकेटले, न्यूजिल्याण्डलाई ४ विकेट, इङ्ल्यान्डलाई १०० रन, श्रीलंकालाई ३०२ रनले हराएको थियो। त्यस्तै दक्षिण अफ्रिकालाई २४३ रनले र नेदरल्याण्डलाई १६० रनले पराजित गर्दै लिगचरणमा आफ्नो रवाफ देखाएको थियो। लगातार ९ जितपछि १८ अंकसहित शीर्ष स्थानमा रहेको भारत सेमिफाइनलमा प्रवेश गरेको हो। सेमिफाइनलमा पछिल्लो दुई उपविजेता न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

सुरुवाती दुई  खेलपछि अपराजित रहँदै फाइनल पुगेको अस्ट्रेलिया

विश्वकपमा अस्ट्रेलियाले खराब सुरुवात गर्‍यो। टोली पहिलो खेलमा आयोजक भारतसँग ६ विकेटले पराजित भएको थियो। अर्को खेलमा टोली दक्षिण अफ्रिकासँग १३४ रनले पराजित भयो। तर त्यसपछि अस्ट्रेलियाले साँचिकै उत्कृष्ट लयमा आफूलाई डोर्‍यायो।

लगातार २ हारपछि कंगारु टोलीले पुनरागमन गर्दै त्यसपछिका ७ खेल जितेको छ। टोलीले श्रीलंकालाई ५ विकेटले, पाकिस्तानलाई ६२ रनले, नेदरल्याण्डलाई ३०९ रनले, न्यूजिल्याण्डलाई ५ रनले, इङ्ल्यान्डलाई ३३ रनले, अफगानिस्तानलाई ३ विकेटले र बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो। लगातार ७ जितपछि १४ अंकसहित टोली सेमिफाइनलमा प्रवेश गर्‍यो। सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै टोली फाइनलमा प्रवेश गरेको थियो।

कस्तो छ अहमदाबादको पिच?

अहमदाबादको पिच ब्याट्सम्यानहरूका लागि उपयोगी छ, तर यसले बलरहरूलाई पनि मद्दत गर्छ। यहाँ बीचको ओभरमा स्पिनरहरूलाई केही राहत मिल्छ। यो विश्वकपको पाँचौं खेलका रुपमा फाइनल हुँदै छ। हालसम्म भएका ४ खेलमा पछ्याउने टोलीले ३ र पहिले ब्याटिङ गर्ने टोलीले १ खेल जितेको छ। यहाँ हालसम्म खेलिएका ३० एकदिवसीय खेलमा १५ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन्। पछ्याउने टोलीहरूले १५ खेलमा जित हासिल गरेका छन्।

पहिलो इनिङ्सको औसत कुल स्कोर २ सय ४३ रन बनाउँदा  यहाँ टिमको उच्चतम स्कोर ३ सय ६५ रन हो,  जुन सन् २०१० मा भारत विरुद्ध दक्षिण अफ्रिकाले बनाएको थियो। सबैभन्दा कम स्कोर ८५ रन हो। जुन २००६ मा जिम्बाब्वेले वेस्ट इन्डिजविरुद्ध बनाएको थियो।

भारतको अहमदाबादमा कस्तो छ जित रेकर्ड?

भारतले अहमदाबादमा १९ एकदिवसीय खेल खेलेको छ। टिमले ११ खेलमा जित निकाल्दा ८ खेलमा हारेको छ। यहाँ पहिले ब्याटिङ गरेको टोलीले नौ खेलमध्ये पाँचमा जित र चार हार बेहोरेको थियो। पछ्याउने क्रममा, भारतले 10 मध्ये चार खेलमा हार ब्योहोर्दा ६ खेलमा जित निकालेको छ।

अस्ट्रेलियाले अहमदाबादमा अहिलेसम्म ६ एकदिवसीय खेल खेलेको छ। जसमा ४ जित र २ हारेको छ। यहाँ पहिले ब्याटिङ गरेको टोलीले चार खेलमध्ये तीनमा जित र एकमा हार बेहोरेको थियो। पछ्याउने क्रममा दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको थियो।

कस्तो छ मौसम?

अहमदाबादमा हुने फाइनल खेलको दिन मौसम सफा हुने छ। पानी पर्ने सम्भावना छैन। दिनभर राम्रो घाम लाग्नेछ। यस अवधिमा हावाको गति ७ किलोमिटर प्रतिघण्टा रहने छ। तापमान 20 देखि 33 डिग्री सेल्सियस सम्म हुन  सक्ने सम्भावना रहेको छ।

भारतको सम्भावित प्लेइङ ११

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शामी, जसप्रित बुमराह र मोहम्मद सिराज।

अस्ट्रेलियाको सम्भावित प्लेइङ ११

प्याट कमिन्स (कप्तान), डेभिड वार्नर, ट्रेभिस हेड, मिचेल मार्श, स्टिभ स्मिथ, मार्नुस लाबुसेन, जोस इंग्लिस (विकेटकीपर), ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, एडम जाम्पा र जोस ह्याजलवुड

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्