छठ पर्वले आपसी सद्भाव बढाउँछ: राष्ट्रपति पाैडेल

फाइल फोटो।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गरेका छन्।

छठका अवसरमा आइतबार दिएको शुभकमना सन्देशमा नेपाली समाजमा राष्ट्रपतिले  विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसंगतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकृतिको पूजा गरिने छठपर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास सन्देशमा उल्लेख छ।

यसै अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै जारी गरिएको सन्देशमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठपर्वबाट सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार हुने बताएका छन्।

यसै उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको शुभकामना सन्देशमा छठपर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

छठका अवसरमा तराईवासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै भूगोल र क्षेत्रफलको हिसाबले नेपाल सानो भए तापनि भाषा, कला, संस्कृति, चाडपर्व, वेशभूषा र सभ्यताका दृष्टिले विश्वमै विशाल र वैभवशाली भएको बताएका छन्।

यसैगरी, सभामुख देवराज घिमिरेले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि यसै अवसरमा दिनुभएको शुभकामना सन्देशमा छठपर्वजस्ता चाडका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने बताएकी छन्।

उनले यो पर्वबाट राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त ग‍रेकी छन्।

सूर्य देवता र छठीमाताको पूजाअर्चना छठपर्वको मुख्य विशेषता हो। यो पर्वमा सूर्यको उपासना तथा व्रत बसी रातभर खोला तथा पोखरीको किनारमा जाग्राम गरेर हर्षोल्लासका साथ धुमधामसँग यो पर्व मनाइन्छ।

खासगरी तराई तथा मधेस क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी तथा हिमाली जिल्लामा समेत सूर्यदेवता र छठीमाताको पूजाअर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको छ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ। भेदभावबिना सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यलाई दूधको अर्घ्य दिएर पूजा आराधना गरी यो चाड मनाइन्छ।

छठ पर्वलाई प्राकृतिकसँग प्रेमको प्रतीकका रूपमा लिइन्छ। यस पर्वमा यो मौसममा उपलब्ध हुने सबैखाले नयाँ अन्न, फलफूल, कन्दमूलहरू प्रसादका रूपमा प्रयोग गरिन्छ।

प्रकृति र सभ्यताको अनुपम उदाहरण रहेको छठ पर्वको नेपालको तराई मधेसमा हिन्दूबाहेक इसाई, मुस्लिम र नेवार समुदायले पनि मान्ने गरेका छन्।

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्