दाङ- जोगराज चौधरी लमही नगरपालिकाको नगर प्रमुख हुन्। उनी विसं. २०२९ सालमा पहिलो पटक स्वर्गद्वारीको दर्शनको लागि प्युठान पुगेका थिए। त्यसपछि उनी शनिबार पनि स्वर्गद्वारी पुगे।

यो बीचमा धेरै परिवर्तन भयो। खरको झुप्रोमा रहेका मठमन्दिरहरू पक्की बने। मन्दिरसम्म पुग्ने पक्की सिँढी बन्यो। पानी थिएन, पानी पुग्यो।

‘महाप्रभुको दर्शन गर्दा बेग्लै अनुभूति हुन्छ’, चौधरीले भने, ‘यो प्युठानको मात्रै होइन, पुरै देशको आस्थाको केन्द्र हो।’

आकाश खुलेकाे हिमश्रृङ्खलाले मनै लोभ्याउँछ। चाडवाडको समय भएकाले देश भित्रका भक्तजनहरूको घुइँचो छ।

पुस १५ बाट भारतीय पर्यटकहरूको त भीड नै लाग्छ। उत्तर प्रदेशका विभिन्न जिल्लाबाट स्वर्गद्वारी आउने भक्तजनहरू धेरै छन्।

एकै दिन १०/१५ हजार जनाले समेत यहाँ पुजाआराधना गर्छन्। आश्रममा पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ।

वैशाख पूर्णिमा, बुद्धजयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ।

स्वर्गद्वारी नगरपालिका वडा नं. २ मा अवस्थित स्वर्गद्वारी तपोभूमि समुन्द्री सतहदेखि ७००० फीटको उचाइँमा पर्दछ।

हेर्नूहोस् तस्बिरहरू: