पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन क्रस-कन्ट्री प्रतियोगिता हुने

पोखरा- पर्यटकीय शहर पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन क्रस-कन्ट्री प्रतियोगिता हुने भएको छ। पर्यटनलाई प्रबर्धन गर्दै खेलकुद शहरका रुपमा पोखरालाई स्थापित गर्न मंसिर ९ गते माउन्टेन क्रस-कन्ट्री प्रतियोगिता आयोजना गरिएको हो।

चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रतियोगिताको आयोजक हुन्। युनान माउन्टेनरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएशन, होटल एसोसिएशन पोखराले सहआयोजकको रुपमा सघाउनेछन्।

सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी र विद्यार्थी दौड गरेर ४ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले जानकारी दिए।

पालिखेका अनुसार सामूहिक प्रतिस्पर्धामा २० समूहले प्रतिस्पर्धा गर्नेछन्। नेपाल र चिनका १०/१० समूह प्रतिस्पर्धामा उत्रनेछन्। जसमा पोखराकै ४ समूह हुनेछ। दौड, साइक्लिङ र डुंगा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेताको छिनोफानो हुनेछ।

यो विधाको विजेताले ३ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रोले २ लाख ८८ हजार रुपैयाँ , तेस्रोले २ लाख १६ हजार रुपैयाँ, सान्त्वना हुने समूहले १ लाख ४४ हजार रुपैयाँ र पाँचौँले ९ हजार रुपैयाँ पुरस्कार हात पार्नेछ।

व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ। यो विधाको विजेता महिला पुरुषले जनही १ लाख ४४ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेताले १ लाख ८ हजार रुपैयाँ पाउनेछन्। तेस्रोले ५४ हजार रुपैयाँ, चोथौँदेखि सातौंसम्मले १८ हजार रुपैयाँ र दसौँसम्मका धावकले ९ हजार रुपैयाँ पाउनेछन्। यी दुवै विधामा लेकसाइडको बाराहीघाटबाट सुरु भएर बिरौटा, फ्रुसे खोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचिबोट हुँदै बाराहीघाटमै आएर विजेताको टुंगो लाग्नेछ।

५ किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताको विजेता छात्र छात्रालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ। दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोँले १० हजार र पाँचौले हुनेले ५ हजार रुपैयाँ पाउनेछन्।

पुरस्कारमा मात्रै झन्डै २० लाख रुपैयाँ खर्च हुनेछ। प्रतियोगिता सञ्चालनार्थ ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको संयोजक पालिखे बताउँछन्।

प्रतियोगितामा सहभागी हुन चीनको यूनान प्रान्तबाट ७८ खेलाडी र अफिसियल गरेर ११४ जना पोखरा आउनेछन्। हिमालयन एयरलायन्सको चार्टड विमानमार्फत उनीहरू मंसिर ७ गते नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछन्।

प्रतियोगितालाई सघाउन १८ जना चिनियाँ स्वास्थ्यकर्मीसँगै १९ जना प्राविधिक आउनेछन्। भुतपूर्व खेलाडी मञ्चले पनि प्राविधिक अन्तर्राष्ट्रिय माउन्टेन क्रस-कन्ट्री प्रतियोगिता गर्नलाई २२ उपसमिति गठन गरिएको छ। १४ आमा समूह र युवा क्लबले सघाउने भएका छन्।

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्