सवस्टेसन निर्माण विवादः लप्सीफेदीबाट पक्राउ परेका सबै छुटे

काठमाडौं-  प्रहरीसँग झपडमा उत्रेपछि पक्राउ परेका लप्सीफेदीका स्थानीय छुटेका छन्।

लप्सीफेदीको बोझिनीमा बन्न लागेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन अन्तै सार्नुपर्ने माग गर्दै आएका स्थानीय र प्रहरीबीच शुक्रबार झडप भएको थियो।

सवस्टेसन निर्माणको सुरक्षाका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीले क्याम्प खडा गर्ने तयारी गरेपछि शुक्रबार स्थानीय अवरोध गरेका थिए। अवरोधका क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदा डिएसपीसहित ३ जना प्रहरी र केही स्थानीय घाइते भएका थिए।

लगत्तै ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने शनिबार बिहान थप १० जना आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको थियो। उनीहरुलाई फेरि प्रहरीमाथि धरपकट नगर्ने शर्तमा शनिबार बेलुका छाडिएको प्रहरीले जनाएको छ।

त्यस्तै सवस्टेसन निर्माण स्थल शंखरापुर ३ का वडा अध्यक्ष सुर्य तामाङले पनि पक्राउ परेकाहरु छुटेको जानकारी दिए।

अहिले सवस्टेसन निर्माण स्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्