सर्लाहीमा गाडिएको शव निकालेर प्रहरीले पोष्टमार्टमका लागि पठायो

सांकेतिक तस्बिर।

जनकपुरधाम – सर्लाही प्रहरीले गाडिएको एक सातापछि शव निकालेर पोष्टमार्टमको लागि पठाएको छ।

जिल्लाको हरिवन नगरपालिका–११ बालगंगामा रहेको मुस्लिम बस्तीमा एक साताअघि खाल्डोमा गाडिएको युवतीको शव निकालेर आइतबार पोष्टमार्टम गर्न अस्पताल पठाइएको प्रहरी उपरीक्षक प्रवीण धितालले जानकारी दिए।

युवतीको मृत्यु शंकास्पद देखिएपछि शव निकालेर प्रहरीले परीक्षणका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पुर्‍याएको हो। गत कार्तिक २६ गते सोही ठाउँकी १७ वर्षीया तबसुन खातुनको मृत्यु शंकास्पद देखिएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक धितालले अहिलेसम्मको अनुसन्धानमा खातुनको मृत्यु शंकास्पद देखिएपछि गाडिएको शव उत्खनन् गरी परीक्षणका लागि अस्पताल लगिएको बताए। परिवारका सदस्यले भने पेट दुखेर मृत्यु भएको दाबी गरेको प्रहरीले जनाएको छ।

आइतबार बिहान धार्मिक अगुवा तथा स्थानीयसमेतलाई सम्झाइबुझाइ प्रहरीले खातुनको शव मुस्लिम समुदायको दाहसंस्कार गर्ने ठाउँ कब्रस्थानबाट निकालेर परीक्षणका लागि सदरमुकाम मलंगवा लगेको हो।

घटनाको अनुसन्धानका लागि प्रहरीले मृतक युवतीकी सौतेनी आमा ४५ वर्षीया सकिना खातुनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। मृतकका मामा ५५ वर्षीय शेख जिलानी र उनका छोरा २४ वर्षीय शेख असजदलाई समेत प्रहरीले पक्राउ गरेको छ।

खातुनका बुवा सेख इर्साद र सौतेनी आमाकी पहिलेका श्रीमान्‌तर्फको छोरा सेख चाँद फरार रहेका छन्। दुवैजनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्