विद्यालयलाई भूकम्पप्रतिरोधी भवन निर्माण

सिमकोट – सिमकोट गाउँपालिका– ७ को चौगानफयाको कर्णाली माध्यमिक विद्यालयमा पहिलो पटक भूकम्पप्रतिरोधी भवन निर्माण भएको छ।

विद्यालयमा भएका पुराना भवन जीर्ण र साँघुरा भएपछि आधार विकास नेपालको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएर सञ्चालनमा आएको हो।

प्रधानाध्यापक रामराज शाहीका अनुसार नयाँ र भूकम्पप्रतिरोधी भवन निर्माण भई सञ्चालनमा आएको हो। नयाँ पाँच कोठे भवन निर्माण भई सञ्चालनमा आएसँगै यसअघि पुराना, पानी चुहिने र जीर्ण भवनमा शिक्षक विद्यार्थीलाई पठनपाठनका बेला आउने समस्याबाट मुक्ति मिलेको हो।

भवन निकै गुणस्तरीय, कोठा पनि ठूला भएको र कोठाको भुइँसमेत सिमेन्ट ढलान गरिएकाले कक्षा कोठा धुलोबाट समेत मुक्त भएका छन्। भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने आधार विकास नेपालका हुम्ला जिल्लामा शिक्षा क्षेत्र हेर्ने अधिकृत कन्जोक लामाले काठमाडौंको निर्माण नेपालले माटोको परीक्षण गर्दा राम्रो देखिएपछि इन्टर लिंक इँटा निर्माण स्थलमै तयार पारी भवन निर्माण गरिएको जानकारी दिए।

भवन निर्माणका लागि कोरोनाका कारण तीन वर्ष लागेको बताउँदै उनले भूकम्पप्रतिरोधी र जिल्लामै पहिलो नमुना भवन निर्माण भएर सञ्चालनमा आएको बताए।

आधार विकासले भूकम्पप्रतिरोधी भवन मात्र नभई पाँच वटै कोठाका लागि प्रतिकोठा दश सेट फर्निचरसमेत निर्माण गरेर कोठामा जडान गरी विद्यालयलाई हस्तान्तरण गरेको हो। यसले गर्दा विद्यालयलाई यसअघि भवन बन्ने तर फर्निचर अन्यत्र खोज्नुपर्ने बाध्यताबाट समेत छुट्कारा मिलेको छ। भवनको कुल लागत ६० लाख खर्च भएको बताइएको छ।

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्