विश्वकप फाइनलः १ सय ७८ रन जोड्दा भारतका आधा खेलाडी पेभलियन फर्किए

काठमाडाैँ – एकदिवसीय विश्वकप २०२३ को फाइनलमा भारतीय ब्याटिङ संकटमा परेको छ। भारतले ३५ ओभर सकिँदा १ सय ७८ रनको अवस्थामा आधा अर्थात् ५ ब्याटर गुमाएको छ।

भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय इनिङ खेले पनि धीमा गतिमा रन बन्दा भारतलाई घरेलु मैदानमा उपाधि चुनौती थपिएको छ। भारतले पहिलो विकेटका रुपमा ओपनर शुभमन गिललाई टिमको स्कोर ३० रन हुँदा ४.२ ओभरमा ४ रनमा गुमाएको थियो। दोस्रो विकेटका रुपमा कप्तान रोहित शर्मालाई ९.४ ओभरमा टिमको स्कोर ७६ रन हुँदा ४७ रनमा गुमायो। त्यसपछि क्रिजमा आएका श्रेयस अय्यर ३ बलमा ४ रन बनाएर आउट भएका थिए।

कोहली र केएल राहुलले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे पनि टिमले उच्च स्कोर बनाउन संघर्ष गर्नु पर्‍याे । कोहली ६३ बलमा ५४ रन बनाउँदा कप्तान प्याट कमिन्स द्वारा बोल्ड भए। पाँचौं विकेटका रुपमा रविन्द्र जडेजा ९ रनमा आउट हुँदा भारतले १ सय ७८ रन मात्र बनाएको छ।

अहिले क्रिजमा केएल राहुल ९५ बलमा ५७ रन बनाएर खेलिरहँदा उनलाई साथ दिन सूर्यकुमार यादव आएका छन्। अस्ट्रेलियाका लागि प्याट कमिन्सले दुई विकेट लिँदा मिचेस स्टार्क, ग्लेन म्याक्सवेल समान १–१ विकेट लिएका छन्।

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्