ज्येष्ठ नागरिकको सम्मानमा राज्यले कञ्जुस्याइँ गर्न हुन्नः सभामुख घिमिरे

झापा – सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकहरुको सम्मानमा राज्यले कुनै कञ्जुस्याइँ गर्न नहुने बताएका छन्।
बिर्तामोडमा आइतबार आयोजित एक कार्यक्रममा सभामुखले ज्येष्ठ नागरिक सबैका साझा अभिभावक भएकाले उनीहरुको सम्मान आवश्यक भएको बताए। आफ्नो जीवनको उर्वर समय, श्रम र सीप सबै मुलुकका निम्ति खर्चिएका ज्येष्ठ नागरिक बूढेसकालमा अपहेलित हुने गरेकाले उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताए।
त्यस अवसरमा सभामुख घिमिरेले विर्तामोड र कनकाई नगरपालिकाका एक सय ५० जना ज्येष्ठ नागरिकलाई  ढाका टोपी, खास्टो र लौरो वितरण गरे। लौरो प्रदान गरिएका ज्येष्ठ नागरिकलाई यातायात खर्च पनि उपलब्ध गराइएको विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले जानकारी दिए।
मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्