काठमाडौँ – आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिएको छ। तराईलगायत देशका विभिन्न स्थानमा नदी, तलाउ तथा जलाशयहरुमा पुगेर व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्।

यसैबीच ललितपुरको कुपण्डोलमा पनि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने श्रद्धालुहरुको भीड लागेको थियो। कुपण्डोलमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायत पुगेका थिए।

अब छठको अन्तिम दिन सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा यस वर्षको छठ समापन हुनेछ।

छठ पर्व विशेषगरी तराईमा मनाइने भएता पनि पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा हर्षोल्लासका साथ छठ मनाएको पाइन्छ।