दाङमा पनि मनाइयो छठ पर्व (फोटो फिचर)

दाङ–दाङमा सामूहिक रुपमा छठ पर्व मनाइएको छ। राप्ती नदीको किनारमा भेला भएका श्रद्धालु भक्तजनले षष्ठी भगवतीको पूजा अर्चना गरेका छन्।

दश वर्षदेखि लमही नगर क्षेत्रमा छठ पर्व सामुहिक रुपमा मनाउन थालिएको स्थानीय शिक्षक विनोद ठाकुरले बताए।‘मेरो जन्मघर जनकपुर हो। यहाँ बसाई सरेपछी छठ पर्व यतै मनाउन थालियो। ब्रतालुको संख्या बढेपछि सामूहिक रुपमा पूजा अर्चना गर्न थालियो’उनले भने,‘राप्ती नदी किनारमा अस्ताउदो सूर्य र उदाउँदो सूर्यलाई अर्घ दिने गरिएको छ।’ स्वर्गद्धारी कश्यव सेवा समाजले सामूहिक छठ पूजाको आयोजना गरेको अध्यक्ष पिन्टुकुमार गुप्ताले जानकारी दिए।

यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ। परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ।

पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ। लुम्बिनी प्रदेश सरकारले छठ पर्वको समापनको दिन सोमवार चार जिल्लामा सार्वजनकि विदा दिने निर्णय गरेको छ। बाँके, कपिलवस्तु, नवलपरासी, रुपन्देही जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिएको हो। 

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्