गौरीफण्टा नाकामा क्वारेन्टाइन संचालन गर्न व्यवसायीको माग

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले धनगढीका अगुवा व्यवसायीसँग छलफल गरेको छ। व्यवसायीका समस्यासंगै प्रदेश सरकारले फागुनमा गर्न लागेको लगानी सम्मेलनका बारेमा सुझाव माग्न छलफल गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए।

छलफलमा सहभागी अधिकांश व्यवसायीले गौरीफन्टा नाकामा ३ महिनाभन्दा लामो समयदेखि बन्द रहेको क्वारेन्टाइन तत्काल संचालनमा ल्याउन पहल गरिदिन प्रदेश सरकारसँग आग्रह गरेका छन्।

छलफलमा सहभागी कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले भने,’३ महिनादेखि क्वारेन्टाइन बन्द हुँदा एक ट्रक सामान पनि गौरीफन्टा नाकाबाट ल्याउन सकिएको छैन, जसका कारण व्यापारी ठूलो मारमा छन्। तत्काल यसको पहल गरिदिनुस्।’ उनले लगानी सम्मेलनलगायत प्रदेश सरकारले संचालन गर्ने विकास निर्माणमा व्यवसायी सहयोग गर्न तयार रहेको बताए।

यस्तै अर्का व्यवसायी ओमप्रकाश अग्रवालले सबैभन्दा पहिले लगानीको वातावरण बनाउन प्रदेश सरकारलाई आग्रह गरे। उनले भने,’प्रदेश सरकारले छलफलको सुरुवात राम्रो गरेको छ, यसलाई निरन्तरता दिएर कार्यान्वयनमा पनि जोड दिनुपर्छ।’

अग्रवालले व्यवसायीलाई विश्वास दिलाउन पनि तत्काल गौरीफन्टा नाकामा क्वारेन्टाइन संचालनमा ल्याउनु पर्ने बताए। छलफलमा सहभागी अन्य व्यवसायीहरुले पनि पहिलो माग गौरीफन्टा नाकामा क्वारेन्टाइन संचालन गर्नु नै रहेकोमा जोड दिए।

कार्यक्रममा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रदेश सरकारले गौरीफन्टामा क्वारेन्टाइन संचालनका लागि पहल गरिरहेको बताए।

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्