दिनभरिका १० मुख्य समाचार

छठपर्वको महत्वपूर्ण दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ। तराईलगायत देशका विभिन्न स्थानमा नदी, तलाउ तथा जलाशयहरुमा पुगेर व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्। अब छठको अन्तिम दिन सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएपछि विधिवत रुपमा यस वर्षको छठ समापन हुनेछ। तराईमा मात्रै मनाइने छठ पछिल्लो समय काठमाडौँ लगायत पहाडी भेगका समुदायमा पनि मनाउन थालिएको छ।

000

राष्ट्रपति रामचन्द्र पौडेलले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजाअर्चना गरेका छन्। काठमाडौँ उपत्यकाका कमलपोखरी, गुह्येश्वरी  गौरीघाट, कुपण्डोललगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजा भएको छ। काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठपूजामा उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तिले छठीमाताको पूजा गरेका छन्।

000

एमालेको भातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते एकै दिन काठमाडौँमा गर्ने प्रर्दशनको सुरक्षा संवेदनशीलताबारे गृह मन्त्रालयमा आइतबार छलफल भएको छ। एमाले अध्यक्ष केपी ओली पक्षधर र व्यवसायी दुर्गा प्रसाईँ पक्षधरबीच झडप र भिडन्तको अवस्था आउन नदिन चनाखो रहनेबारे सुरक्षा प्रमुखहरुबीच कुराकानी भएको स्रोतले जानकारी दिएको छ।

000

मंसिर ७ गते काठमाडौँमा प्रदर्शनको आह्वान गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले सञ्चालन गरेको अभियानबाट कुनै पनि हालतमा ‘ब्याक’ नहुने बताएका छन्। आइतबार देशसञ्चारसँग कुरा गर्दै प्रसाईंले विद्यमान देशको संकट राजनीतिक दल तथा तिनका नेतृत्वले निम्त्याएको भन्दै अभियान व्यवस्था परिवर्तनकै लागि भएको बताएका हुन्।

000

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताएका छन्। रुकुमपूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै  उनले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि ठूलो क्षति व्यहोर्नु परेको अवस्थालाई ध्यानमा राखेर क्षतिपूर्तिका लागि स्पष्टरुपमा आफ्ना कुरा राखिने बताएका हुन्।

000

माओवादी केन्द्र र डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाबीच पार्टी एकताका लागि छलफल भएको छ। गत वर्ष चुनाव अघि नै एकता गर्ने राजनीतिक सहमति गरेर नेसपाका अध्यक्ष भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन क्षेत्र गोरखा २ छाडे पनि ठोस प्रगति हुन सेकेको छैन।

000

नेपाल उद्योग वाणिज्य महासङ्घले सदस्यहरूसमक्ष विद्यमान आर्थिक सङ्कटका समाधानका लागि सुझाव माग गरेको छ। विद्यमान सङ्कट समाधानका उपायहरू खोज्ने क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घले अघि सारेको राष्ट्रिय आर्थिक बहसको शृङ्खलाअन्तर्गत महासङ्घले सुझाव मागेको हो।

000

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले जाजरकोट भूकम्पप्रभावित क्षेत्रमा तीन हजार एक सय जना स्वयंसेवक खटाउने निर्णय गरेको छ। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश विशेष रुपान्तरण अभियानको समीक्षात्मक बैठकले उक्त निर्णय गरेको हो । पार्टी निर्णयअनुसार प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकले भूकम्पपीडितका अस्थायी आवास तथा पुनःनिर्माणमा सहयोग गर्नेछ ।

ooo

चालु आर्थिक वर्ष २०८०,८१ को चार महिना बितिसक्दा पनि २३ वटा पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने व्यवस्था छ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्प पीडितका लागि  अस्थायी आवास निर्माण थालिएको छ । पहिलो चरणमा स्थानीय कच्चापदार्थ प्रयोग गरेर जामिरेकोट पूर्णगाउँ, छेपारे टोलमा दशवटा अस्थायी आवास निर्माण गर्न लागिएको  इञ्जिनीयर मानबहादुर शाहीले जानकारी दिए।

मंसिर ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्