मदन पुरस्कार विजेता ओझालाई सम्मान

टीकापुर- विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न स्घसंस्थाले सम्मान गरेका छन्। ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य संघ, हाम्रो पत्र डटकमलगायतका संघअस्थाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन्।

लेखक ओझाले ऐँठन एउटा युद्ध उपन्यास भएको बताए। उ‍नले ऐँठन उपन्यास महाभारत, विश्व युद्ध र नेपालको सशस्त्र युद्धलाई समेटेर लेखिएकाले यो एउटा युद्ध उपन्यास भएको बताए।

‘मैले युद्धपछि पीडामा रहेकाहरूलाई देखेँ, भेटेँ, उनीहरूको मानसिक अवस्था विचलित भएको पाएँ’, उनी भन्छन्, ‘विश्वकै कुरा गर्दा पनि हतियार, हिंसा र द्वन्द्वमा धेरै खर्च भइरहेको छ। यो लगानी विकासमा गर्न सकेको भए विश्व अर्कै हुन्थ्यो भन्ने मैले महसुस गरेँ। गाउँ गाउँमा गएर पीडामा रहेकाको कथा समेटेको छु।’

लेखक ओझाले पहिले कथाका लागि तयार गरिएको पाण्डुलिपिलाई अध्ययन गर्दै जाँदा उपन्यास तयार भएको र उपन्यासलाई पूर्णरूप दिन पाँच वर्ष लागेको बताए।

टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक केशरबहादुर कुँवरले ओझाको पुस्तकले पुरस्कार मात्र प्राप्त नभई टीकापुरलाई चिनाउने र पुरस्कृत गर्ने काम गरेको बताए।

वीरेन्द्र विद्यामन्दिर माविका सहप्राचार्य डा योगेन्द्रप्रसाद बजगाईले आफूले पढाएको विद्यार्थीले लेखेको पुस्तकले देशकै सर्वोत्कृष्ट मानिने मदन पुरस्कार प्राप्त गरेकामा आफूलगायत विद्यालयले गर्व महसुस गरेको बताए।

लेखक ओझाको पहिलो कृति ‘एक पाइला आकाशमा’ गजल सङ्ग्रह २०७० सालमा प्रकाशित भएको थियो। त्यसपछि उनले २०७४ सालमा ‘ऐलानी’ उपन्यास लेखे।

विसं २०४८ जेठ २ गते अछामको साविक दर्ना गाविसमा जन्मिएका ओझाको बाल्यकाल टीकापुरमा बित्यो।

उनले माध्यमिक तहसम्मको शिक्षा टीकापुरबाटै प्राप्त गरे। पछि काठमाडौं गएर ओझाले आफ्नो लेखनलाई अगाडि बढाउँदै व्यवस्थापन विषयमा स्नातकोत्तर गरे।

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्