भारतले भोगेको एक हार, जो कहिल्यै भुल्ने छैनन् भारतीय समर्थक

सम्भवत जारी विश्वकपमा भारत निर्विकल्प उपाधि दाबेदार मानियो। भारत उपाधिका लागि सर्वाधिक हकदार पनि थियो। उसले समूह चरणमा सायदै प्रतिस्पर्धा गर्नुपर्‍यो। अर्थात् एकपक्षीय जीत हरेक खेलमा भारतको पक्षमा थियो। त्यसैले धेरैले यो पटक भारत निर्विकल्प च्याम्पियन मानेका थिए।

तर क्रिकेटमा आफ्नो पक्षमा संधै सोचेजस्तो नतिजा आउँदैन। सोचेजस्तो नतिजा ल्याउनका लागि भारतमा समर्थकले आफूले सक्ने सबथोक गरे। पूजा, प्रार्थना र भाकलदेखि जितेमा ठूलोमात्रामा खेलाडीलाई पुरस्कार घोषणासम्म अनि लाखौं समर्थक मैदानमा उत्रिएर नै आफ्नो देशको जितका लागि लगातार हुटिङ गरिरहे।

तर टससँगै अस्ट्रेलियाले आफ्नो दबाब मैदानमा देखाउन थाल्यो। परिणामत: भारतको एक हार भारतीय दर्शकका लागि अर्को नमिठो इतिहास बनेर रह्यो।

विश्वकपको फाइनल खेलमा अष्ट्रेलियासँग भारतले भोगेको ६ विकेट हारलाई भारतीय सञ्चारमाध्यमले लज्जास्पद र खेलाडीको गैरजिम्मेवार ब्याटिङको कारण सम्भव भएको बताएका छन्। प्रतियोगिताभर भारतीय टोलीले राखेको दबदबा फाइनलमा गुमाउँदा समग्र प्रदर्शनको अर्थ नभएको भन्न समेत भ्याइसकेका छन्।

अहमदाबादको पिएम नरेन्द्र मोदी स्टेडियममा अष्ट्रेलियाका ब्याट्सम्यानले ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रनको लक्ष्य पूरा गरे। ट्राभिस हेडले १२० बलमा १३७ रनको अविजित इनिङ खेले भने मार्नस लाबुसेनले ११० बलमा ५८ रनको अविजित इनिङ खेले। भारत हारका कारणहरू खोज्न सुरु भएका छन्। जस मध्ये केही कारण यस्तो मानिएको छ।

कप्तानको लापरवाहीपूर्ण ब्याटिङ

रोहित शर्माले यस विश्वकपमा एक-दुई वटा खेललाई छाड्ने हो भने हरेकमा अर्धशतक प्रहार गरेका छन्। त्यो पनि विष्फोटक जसले जितको आधार तयार गरेको छ। उनले पहिले जस्तै ब्याटिङ गरे। तर उनी जुन शट खेलेर आउट भए त्यसलाई लापरवाहीपूर्ण मानिएको छ।

पावर प्लेको ९ ओभरमा भारतको स्कोर ६६ रनको अवस्थामा १ विकेट थियो। पार्टटाइम बलर ग्लेन म्याक्सवेल १० औं ओभरमा आए। रोहितले पहिलो तीन बलमा १० रन बनाएका थिए। यद्यपि चौंथो बलमा उनले ठूलो शट खेल्ने प्रयास गरे र क्याच आउट भए। यसले भारतीय इनिङ्सको गति तोड्यो। रोहित शर्मा ४७ रन बनाएर आउट भए। उनी लगातार दोस्रो खेलमा ४७ रनमा आउट भए।

विराट गलत समयमा आउट

रोहित आउट भएपछि अय्यर ४ रन बनाउँदा नै पेभिलियन फर्किए। त्यसपछि विराट काेहलीले राहुलसँग ६७ रनको साझेदारी गरे। प्याट कमिन्सको बलमा विराट प्लेअन हुँदा दुवैले टोलीलाई ठूलो स्कोरतर्फ लैजाँदै थिए।

तर धीमा गतिका कारण यो बीचमा भारतीय इनिङ्स अड्कियो र पछि आएका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। विराट ६३ बलमा ५४ रन बनाएर आउट भए।

राहुलको सुस्त ब्याटिङ

कोहलीको विकेट खसेपछि केएल राहुल दबाबमा आए र विकेट बचाउन बिस्तारै खेल्न थाले। मध्य ओभरमा ९७ बलसम्म कुनै बाउन्ड्री आएन। केएल राहुलले १०७ बलमा ६१.६८ को स्ट्राइक रेटमा ६६ रन बनाए। राहुलले आफ्नो ६६ रनको पारीमा एक चौका मात्र प्रहार गरे।

बलिङ र फिल्डिङमा कमजोरी

अस्ट्रेलियाले बलिङ र फिल्डिङ सजावट जसरी गर्‍यो, त्यसको तुलनामा भारत निकै कमजोर सावित भयो। २४१ रनको सानो स्कोर जोगाउन मैदान उत्रिएको भारत पावरप्लेमा हावी रह्यो।

शमीले आफ्नो पहिलो ओभरमा डेभिड वार्नरको विकेट लिए। त्यसपछि बुमराहले पावरप्लेमा मिचेल मार्स र स्टिभ स्मिथलाई आउट गरेका थिए। पावरप्लेमा अस्ट्रेलियाले ६० रनमा ३ विकेट गुमाएको थियो। त्यसबेला धेरैलाई इंग्ल्यान्ड विरुद्ध जस्तै भारत खेलमा फर्कने ठानेका थिए।

तर यहाँबाट रोहित शर्माले बलिङ र फिल्डिङमा आक्रमणलाई कम गरेको आरोप उनीमाथि छ। राति हुँदै गएपछि शीतबाट बच्न रोहितले पावरप्ले पछि जडेजा र कुलदीपलाई ६ ओभर बलिङ दिए। यसैमा हेड र लाबुसेनले आफूलाई सेट गर्ने अवसर पाए।

दुवैले शतकीय साझेदारी गर्दै खेल अस्ट्रेलियाको पक्षमा पुर्‍याए। उनीहरूले चौंथो विकेटका लागि १९२ रनको साझेदारी गरे।

ओसले अस्ट्रेलियालाई सहयोग

अष्ट्रेलियाको इनिङ्सको २० ओभरपछि शीत पर्न थाल्यो। यसले मैदान ओसिलो बनायो भने बललाई भिजायो। जसले स्पिनरहरू प्रभावहीन बनाउँदा ब्याटरको ब्याटमा बल सहजै आउन थाल्यो। जडेजा र कुलदीपले कुनै विकेट लिन सकेनन्। फास्ट बलरहरू विरुद्ध ब्याटिङ पनि सजिलो भयो।

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्