भन्सार छलेर कोइलावास नाकाबाट नेपाल भित्र्याउँदै गरेको बोइलर कुखुराको चल्ला बरामद

दाङ- भारतबाट अवैधरूपमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको बोइलर कुखुराको चल्ला कोइलावासमा बरामद गरिएको छ।

संयुक्त गस्ती टोलीले गढवा गाउँपालिका- ८ को कोइलावास दशगजा क्षेत्र हुँदै नेपाल भित्र्याउन थालेको एक हजार तीन सय ६८ वटा बोइलर कुखुराको चल्ला बरामद गरेको कोइलावास भन्सार कार्यालयका प्रमुख दिपक शर्माले जानकारी दिए।

भन्सार कार्यालय, सशस्त्र प्रहरी सीमा प्रहरी कार्यालय कोइलावास, नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले उक्त चल्ला बरामद गरेको हो।

‘भारतबाट नेपाल कुखुरा पैठारी गर्न मिल्दैन। यो नियमविपरीत कार्य हो’, भन्सार कार्यालयका प्रमुख शर्माले भने, ‘हामीले बरामद गरेका चल्ला नष्ट गर्छौं।’

यस्तै, इलाका प्रहरी कार्यालय, गढवाको गस्ती टोलीले एक गाडी कुखुराको चल्ला बरामद गरेको छ। बागमती प्रदेश ०१–०२५च ०३३७ नम्बरको बोलेरो पिकअपमा भारतबाट नेपाल ल्याउँदै गरेको आठ सय ४० चल्ला बरामद गरेको इलाका प्रहरी कार्यालय, गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिइन्।

बरामद गरेको चल्ला र गाडी कारबाहीको लागी भन्सार कार्यालयमा बुझाइएको छ । भन्सार छलेर बोइलर कुखुराको चल्ला ल्याउन थालेको सूचनाको आधारमा जाँच गर्दा फेला परेको प्रहरीले जनाएको छ ।

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्