रुकुम पश्चिम बस दुर्घटना अपडेट: गम्भीर घाइते दुई जनाकाे मृत्यु

दाङ- रुकुमपश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चौरजहारी नगरपालिका- १३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका- २ का सात वर्षीय बालक प्रतिक बुढा रहेका छन् ।

बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको छ । पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृहमन्त्रालयमा समन्वय गरेर काठमाडौंबाट हेलिकप्टर आउन लागेको र सोही हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी- ८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जीप दुर्घनामा परेको थियो । जीपमा सवार चालकसहित २२ जना घाइते भएका थिए ।

जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो । घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमताभन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आंकलन गरेको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्