कांग्रेस पदाधिकारी बैठक: भूकम्पपीडितलाई थप सहयोग गर्ने निर्णय

फाइल तस्बिर।

काठमाडौं- नेपाली कांग्रेसले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरूलाई थप सहयोग गर्ने बताएको छ।

सोमबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा राहत उद्धार, पुनःनिर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई थप सहयोग गर्न कसरी सकिन्छ ? भन्ने विषयमा छलफल भएको पार्टीका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।

बैठकमा समसामयिक विषयमा पनि छलफल भएको बताए। उनले सरकारले अस्थायी आवासका लागि प्रभावित परिवारलाई दिने भनेको ५० हजार रुपैयाँ आज जिल्ला तहमा पुग्ने बताए।

प्रभावित परिवारलाई सहयोगका लागि पार्टीको आह्वानमा खटिन चाहनेहरूले अस्थायी आवास निर्माणका लागि सहयोग गर्नसक्ने बारेमा पनि छलफल भएको नेता महतले बताए।

उनले भने, ‘भूकम्पपीडित जाजरकोट र रुकुम-पश्चिममा जुन भूकम्बाट क्षति भयो, त्यसपछिको राहत उद्धार, पुनःनिर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई थप सहयोग गर्न कसरी सकिन्छ? भन्ने विषयमा छलफल भयो। भूकम्पप्रभावित क्षेत्रमा सरकारले ५० हजारको दरले हरेक क्षति भएका घरका परिवारलाई दिने भनेकाे छ। त्यसपछि उहाँहरूले अस्थायी आवास बनाउनुहुनेछ। पार्टीले त्यहाँ स्वयंसेवक बेसिसमा सहयोग गर्न चाहनेहरूलाई परिचालन गर्ने कुरा भएको छ।’

नेता महतले मंसिर ७ गतेको आन्दोलनलाई लिएर सरकारले गम्भीर रूपमा हेरिरहेको बताए।

उनले संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेको भएपनि समाज भन्दा बाहिर गएर अभिव्यक्ति दिन नहुने बताए।

नेता महतले अधिकार प्राप्तिको स्वतन्त्रताका लागि आफूहरू पनि लड्न तयार रहेको पनि बताए।

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्