टिकटक प्रतिबन्धले अर्थतन्त्रमा कस्तो असर गर्छ?

सेप्टेम्बर २०१६ मा चीनमा बनेको सामाजिक सञ्जाल र संयुक्त राज्य अमेरिकामा अक्टोबर २०१८ मा सबैभन्दा धेरै डाउनलोड गरिएको एप – टिकटक अहिले नेपालमा पनि चर्चाको बिषय बनिरहेको छ। अघिल्लो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गर्‍यो-  समाज बिथोलिएको कारण देखाएर। टिकटकबाटै बिभिन्न गलत सूचना फैलिए पनि अरु सामाजिक सञ्जालजस्तै फेसबुक, व्हाट्स्अप्, भाइबरलगायतबाट पनि विभिन्न घटना तथा ठगी बढिरहेका छन् तर नेपाल सरकारले ‍किन टिकटकलाई मात्र प्रतिबन्ध लगायो भन्ने स्पष्ट गरेको छैन। टिकटकलाई नियमन गर्ने भनेर निर्देशिका ल्याइएको केही दिनमै सरकारले टिकटकलाई प्रतिबन्ध नै लगाइदियो।

हरेक सामाजिक सञ्जालका सकारात्मक तथा नकारात्मक पक्षहरु हुन्छन्, त्यसको नियमन गर्नु सरकारको दायित्व हो तर नेपाल सरकारले टिकटकका खराब पक्ष मात्र हेरेर निर्णय लिएको देखिएको छ।

टिकटकमा ३ सेकेन्डदेखि १० मिनटसम्मका भिडियो हाल्न सकिन्छ। छोटो भिडियोलाई प्राथमिकतामा राख्ने भएकाले यो एप युवा तथा व्यवसायीमाझ छोटो समयमा नै चर्चामा आएको थियो। टिकटकको नीतिलाई मान्य हुने सबै किसिमका भिडियो यो प्ल्याट्फर्ममा राख्न सकिन्छ।

टिकटकका केही नकारात्मक पक्ष होलान्, त्यसलाई नियमन गर्नु आवश्यक छ तर टिकटकको सकारात्मक पक्ष हेर्ने हो भने यसले मनोरन्जन त दिएको छ नै, हाम्रो जस्तो विकासोन्मुख देशमा आर्थिक अवस्थालाई पनि सहयोग पुर्‍याइरहेको छ।

टिकटक प्रतिबन्धले अर्थतन्त्रमा कस्तो असर गर्छ?

विश्वका ठूलाठूला देशहरु आर्थिक मन्दीबाट गुज्रिरहेका छन् र त्यसको असर् नेपालजस्तो विकासोन्मुख देशलाई पर्नु स्वभाविकै हो। केही दिनअघि मात्रै देशभरिका करिब ४० प्रतिशतभन्दा बढी सटर खालि छन् भन्ने रिपोर्ट आएको थियो, विभिन्न सञ्चार माध्यममा।

देशको आर्थिक स्थिति र महङ्गीले गर्दा धेरैजसो युवाहरुले पसलमा भइरहेको खर्चसमेत उठाउन नसकेको भन्दै ब्यवसाय छोडेर बिदेश गइरहेका छन् भने व्यवसाय गरौँ भन्नेहरु पनि हतोत्साहित भइरहेको अवस्था छ।

टिकटक नेपाल सरकारका लागि सामाजिक सद्भाव बिथोल्ने प्ल्याटफर्म भए पनि धेरैजसो युवाहरुको क्यारियर बनाउने, व्यवसाय चलाउनेदेखि व्यक्तिगत विकास गर्ने प्ल्याटफर्म बनेको थियो।

यही आर्थिक मन्दीको बीचमा धेरैले सुरु गरेको व्यवसायलाई सफल बनाउने, बन्द गरौँ भन्ने सोच बनाएकाहरुलाई आशावादी बनाउने, बिभिन्न विज्ञापन, म्युजिक भिडियो, सर्ट फिल्म हुँदै मुभीसम्म खेल्न पाउने अवसर जुराइदिने प्ल्याटफर्म बनेको थियो टिकटक।

कला भएकाहरुका लागि कला देखाउने र कला खोजिरहेकाहरुका लागि लागि सजिलै चाहेजस्तो चरित्र भेटिने माध्यम बनेको थियो टिकटक। यसबाट सिर्जनाकर्ताहरुले राम्रो कलाकारलाई विज्ञापन, म्युजिक भिडियोदेखि मुभिमा समावेश गराएर राम्रो पारिश्रमिक दिने र आफूले पनि युट्युबजस्ता विभिन्न प्ल्याटफर्महरुबाट मनग्गे पैसा कमाइरहेका थिए।

लुगा पसल, गहना पसल, मोबाइल पसल, हार्डवेयर पसलदेखि हरेक किसिमका व्यवसायीहरुले सित्तैमा आफ्नो व्यवसायलाई मार्केटिङ गरेर मनग्य आम्दानी गरिरहेका थिए। अब टिकटक नै बन्द भएपछि उनीहरु के गर्ने, कसरी आफ्नो व्यवसाय अगाडि बढाउने, कसरी मार्केटिङ गर्ने भनेर सोचिरहेका छन्।

व्यवसायीहरुले लगानीमा प्रतिफल राम्रो होस् भन्ने चाहन्छन् र जुन प्ल्याटफर्ममा राम्रो लगानीमा प्रतिफल हुन्छ, त्यसलाई नै रोज्छन्। अहिले धेरैजसो व्यवसायी तथा प्रयोगकर्ताहरुले सानो भिडियो क्लिप बनाएको भरमा राम्रो प्रतिफल पाइरहेका थिए भने धेरै लगानी पनि गर्नुपरेको थिएन।

टिकटकमा बिना लगानी मार्केटिङ गरेर कमाउने पैसा मात्रै गुमाएका छैनन् व्यवसायीहरुले, अब मार्केटिङका लागि फेसबुक, इन्स्टाग्रामजस्ता प्ल्याटफर्ममा डलर खर्च गर्नुपर्ने बाध्यतामा उनीहरु पुगेका छन्। यो रकम सोझै देशबाट बाहिरिन्छ। फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा मार्केटिङ गर्न अहिले पनि दिनको करोडौँ रुपैयाँ बाहिर गइरहेको अवस्था छ। सरकाले यसलाई कसरी रोक्ने भनेर छलफल गर्नुको सट्टा विभिन्न रोजगारी तथा सित्तैमा व्यवसायलाई धेरैभन्दा धेरै प्रयोगकर्तासम्म पुर्‍याउने एप टिकटक नै बन्द गरेको छ।

नेपाल् सरकारको अध्ययनबिनाको निर्णयले विभिन्न रोजगारी तथा ब्यवसायहरु त खोसिएका छन् नै, मार्केटिङको लागि मेटाप्ल्याटफर्मदेखि  विभिन्न विज्ञापन प्ल्याटफर्ममा खर्च हुने डलरको मात्रा पनि बढ्ने छ। यसले देशको आर्थिक स्थितिमा असर पुर्‍याउने निश्चित छ।

कसरी टिकटक प्रतिबन्ध अन्य प्लेटफर्महरूका लागि फाइदाजनक?

ब्यापार, व्यवसायदेखि हरेक सूचना छोटो समयमै एक ठाउँबाट अर्को ठाउँ सम्म पुर्‍याउने माध्यम हो सामाजिक सञ्जाल।

फेसबुक, इन्स्टाग्राम, युट्युब, स्न्यापच्याट, व्हाट्सएप, भाइबर नाम चलेका सामाजिक् सञ्जाल हुन्।

यी सामाजिक सञ्जाल प्रयोग गरेर व्यवसायहरुलाई केही सीमित प्रयोगकर्ताहरुसमक्ष पुर्‍याउन सकिन्छ। ब्यवसायलाई धेरै प्रयोगकर्ताहरुसम्म पुर्‍याउन फेसबुक र गुगललाई पैसा तिरेर मार्केटिङ गर्नुपर्ने हुन्छ। व्यवसायीहरुदेखि चुनावका बेला नेताहरुसम्मले आफ्नो प्रचारप्रसारका लागि पैसा तिरेर सामाजिक सञ्जालमा मार्केटिङ गर्ने गर्छन्।

व्यवसायीहरुले लगानीमा प्रतिफल राम्रो होस् भन्ने चाहन्छन् र जुन प्ल्याटफर्ममा राम्रो लगानीमा प्रतिफल हुन्छ, त्यसलाई नै रोज्छन्। अहिले धेरैजसो व्यवसायी तथा प्रयोगकर्ताहरुले सानो भिडियो क्लिप बनाएको भरमा राम्रो प्रतिफल पाइरहेका थिए भने धेरै लगानी पनि गर्नुपरेको थिएन।

अनुसन्धान र वित्तीय सल्लाहकार फर्म बर्नस्टाइनले गरेको अनुसन्धानअनुसार यदी टिकटकलाई अमेरिकामा मात्रै बन्द गर्ने हो भने मेटा र गुगलजस्ता कम्पनीलाई खरबौँ रुपैयाँ फाइदा हुनेछ।

अब नेपालमा पनि टिकटक बन्द भएपछि धेरै प्रयोगकर्ताहरुसम्म आफ्नो ब्यवसायलाई पुर्‍याउन फेसबुक, इन्स्टाग्राम, गूगलजस्ता प्ल्याटफर्मको प्रयोग गर्नेछन् जसले यी कम्पनीलाई अर्बौँ फाइदा हुनेछ। पैसा नतिरी विज्ञापन गर्न पाइने टिकटकजस्ता एप प्रतिबन्ध हुँदा प्रयोगकर्ताहरुलाई आर्थिक रुपमा पनि घाटा हुनेछ।

टिकटक सिफारिस एल्गोरिदमले कसरी काम गर्छ?

टिकटक कसरी प्रयोग गर्ने भन्ने कुरा प्रयोगकर्ताकै हातमा हुन्छ। तपाईँको टिकटकका पनि उच्श्रृंखल, नराम्रा, समाज बिगार्ने भिडियोहरु मात्र आइरहेका छन् भने त्यसमा तपाईँ नै जिम्मेवार हुनुहुन्छ। यो बुझ्नका लागि टिकटकको रिकमेन्डेसन एल्गोरिथ्म बुझ्नुपर्ने हुन्छ। टिकटकले बिभिन्न मेसिन लर्निङ प्रविधिहरु प्रयोग गरेर प्रयोगकर्तालाई उनीहरुको रुचि भएको, खोजिरहेको भिडियो पस्किने गर्दछ। तपाईँले टिकटक एप खोलेपछि यो एपले तपाइका हरेक क्रियाकलापहरुलाई ट्र्याक गरिराखेको हुन्छ र त्यहीअनुसारको सामग्री तपाईँलाई दिँदै जान्छ।

तपाईँले टिकटकमा कसकसको अकाउन्ट फलो गर्नुहुन्छ, तपाईँले गर्नुभएका कमेन्टहरु, तपाईँले लाइक गरेका भिडियोहरु, तपाईँले बुकमार्क गरेका भिडियोहरु, तपाईँले फेबरेट्समा राखेका भिडियोहरु, तपाईँले रिपोर्ट  गरेका सामग्रीहरु सबै कुरा टिकटकले ट्र्याक गरिराखेको हुन्छ र त्यसैअनुसारका सामग्री तपाईँलाई उसले पस्कँदै जान्छ। तपाईँलाई कुनै भिडियो मन परेको छैन भने तपाईँले त्यसलाई रिपोर्ट गर्नुभयो अथवा नट इन्ट्रेस्टेड गर्नुभयो भने त्यस्तो सामग्री तपाईँको टिकटकमा आउँदैन।

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्