हेक्पा खोला पक्की पुल अलपत्र

सिमकोट – सिमकोट–हिल्सा सडकको हेक्पा खोलामा निर्माण भइरहेको पक्की पुलको सम्झौता भएको ६ वर्षमा पनि नबनेको पाइएको छ। पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम ढिलाइ गरेका कारण निर्माण सुस्तगतिमा भइरहेको हो।

हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्र चन्दले हेक्पा खोलाको पक्की पुल निर्माण निकै सुस्तगतिमा भइरहेको स्विकारे। पटक–पटक ताकेता पत्र निर्माण कम्पनीलाई दिँदा पनि कामलाई तीव्रता दिन नसकेको बताउँदै उनले निर्माण कम्पनी पक्षकै लापरवाहीको कारण हालसम्म सम्पन्न हुनुपर्ने पुल निर्माण २५ प्रतिशत मात्र काम सम्पन्न भएको बताए।

हालसम्म पुलको दुवैतिर पिलर उठाउने र ढलान गर्ने कार्य मात्र भएको छ। दुई महिनायता पुल निर्माणसमेत बन्द छ। आयोजनाले ०७४ साल साउन ४ गते सपना धुली खेल जेभीसम्म आयोजनाले पुल निर्माणका लागि सम्झौता गरेको थियो।

सम्झौता पत्रमा दुई वर्षका पुल निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको भए पनि ६ वर्ष चार महिना बितिसक्दा पनि पुल निर्माणले गति लिन सकेको छैन। निर्माण कम्पनीसँग आयोजनाले पाँच पटक म्याद थपसमेत गरेको थियो। पुल निर्माणका लागि आयोजनाले नौ करोड ९९ लाख १३ हजार ७ सय ५८ रुपैयाँ लागत लाग्ने गरी सम्झौता गरेको थियो। निर्माण कम्पनी पक्षले सुरुमा सामग्री ढुवानीमा समस्या, त्यसपछि कोरोनाले काम गर्न नसकिएको जनाए पनि ०७८ सालपछि त्यस्तो कुनै समस्या देखिएको छैन। पुल निर्माण स्थलसम्मै यातायातका साधन सञ्चालन भइरहेकाले सामग्री ढुवानीमा कुनै समस्या छैन।

पक्की पुल निर्माण ढिलाइले गर्दा उक्त खोलामा दुई पटक काठेपुल निर्माण गरेर यातायातका साधन वारपार गरिरहेको र हाल उक्त काठेपुल पनि जीर्ण अवस्थामा छ।

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्