पूर्वराजाको सार्वजनिक कार्यक्रममा राजसंस्था पक्षधरको विशेष तयारी

फाइल तस्बिर।

काठमाडौँ- मुलुकमा पुन: राजसंस्था फर्काउनुपर्ने माग र आवाज बढ्दै गएका बेला पूर्वराजा ज्ञानेन्द्र शाह पनि सार्वजनिक समारोहमा आफ्नो उपस्थिति बढाउन खोज्दै छन्। धार्मिक, व्यक्तिगत र पारिवारिक घुमघामको लागि बेलाबखत निस्किए पनि औपचारिक कार्यक्रममा भने उनी कमै जाने गरेका छन्।

यही मंसिर ९गते झापा जाने कार्यक्रम तय भएसँगै पूर्वराजाको पक्षमा जनमत बढ्दै गएको देख्न सकिन्छ। पूर्वराजा ज्ञानेन्द्र शाहको क्रेजले यता प्रमुख राजनीतिक दलहरुको मनमा भने ढ्याङ्ग्रो बज्न थालेको छ। मुलुकमा गणतन्त्र स्थापना भएको १५ वर्ष र संविधान जारी भएको ८ बर्ष बित्यो।

यो अवधिसम्म गणतन्त्र पक्षधरले मुलुकमा गणतन्त्र र संविधान कार्यान्वयन अभ्यास सफल भएर स्थापित उन्मुख भनेर दाबी गरिरहँदा पूर्वराजाको सक्रियताले त्रसित मनिस्थतिमा देखिन्छन्। पूर्वराजा शाह झापा बिर्तामोड नगरपालिका–१ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्न झापा जान लागेका हुन्।

राप्रपाले संस्थागत र औपचारिक रुपमा निर्णय नगरे पनि अधिकांश नेताहरु राजा उपस्थित हुने उक्त कार्यक्रममा जाने तयारीमा छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको पक्षधर भएका कारण राजा जाने कार्यक्रम एउटा उत्सव जस्तै हुने बताएका छन्। राजाको भव्य स्वागतको लागि राप्रपाले तयारी गरिरहेको उनको भनाइ छ।

लिङदेनले देश सञ्चारसँग भने, ‘राजनीतिक महत्व त रहन्छ नै, कुनै नियोजित र राजनीतिक उद्देश्यका साथ राखिएको कार्यक्रम होइन।’ अभियानमार्फत राजसंस्थाको समर्थनमा उत्रिएका दुर्गा प्रसाईं र पार्टीबाट बाहिरिएका कमल थापाले पुनः राजसंस्थाप्रति देखाएको मोहले प्रसाईं र थापा पनि राप्रपाकै झण्डामुनि रहेर राजसंस्थाको वकालत गर्न सक्ने सम्भावना कति छ भन्ने जिज्ञासामा लिङ्देनले असम्भव नभएको तर त्यसको लागि अहिले गृहकार्य नभएको बताए।

‘थापा र प्रसाईं मात्रै नभई कसैले पनि हिजोको गल्ती कमी कमजोरी सच्याएर नेपालको सन्दर्भमा राजसंस्थाको आवश्यकतालाई स्वीकार गरेर अगाडि आउँछ भने हाम्रो लागि खुसीको बिषय नै हो, हामीले कुनै राजनीतिक स्वार्थलाई केन्द्रमा राखेर राजसंस्था नेपाललाई आवश्यक छ भनेको होइन,’ उनी थप्छन्, ‘कांग्रेस,एमाले,माओवादी लगायतका दलहरु जसले गणतन्त्र, धर्मनिरपेक्षता अथवा संघीयतालाई संस्थागत गराए ती दलहरुले पनि पाठ सिकिकेको अवस्था छ, यसलाई जति अगाडि लग्यो, उति देशले क्षति बेहोर्नु पर्छ, त्यसकारण देशले थप क्षति बेहोर्न नपरोस् भन्नको लागि ती दलहरु समेत सहमतिमा आएर नयाँ सम्झौता गरेर राजसंस्थालाई कुनै न कुनै प्रकारको स्पेश दिनुपर्छ। गणतन्त्र स्वयम् नै बलियो जगमा उभिएको छैन। जनमत संग्रह वा जनताको अभिमतको आधारमा नआएको कारण यो आफैँ कमजोर जगमा छ।’

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाही पनि उक्त कार्यक्रमको प्रचारमा खुलेरै लागेका छन्। शाहीले पूर्वराजा पूर्वनिर्धारित कार्यक्रम अनुसार नै झापा जान लागेको र त्यहाँ राप्रपा लगायत राजसंस्था समर्थितको उपस्थिति रहने उल्लेख गरे।

‘राजा,राजसंस्था र हिन्दुराष्ट्र हाम्रा मुख्य एजेन्डा हुन्। हामी राजालाई मानेर हिँडेका छौँ, राप्रपाको स्वयम् अध्यक्षसहित हाम्रो टिम झापामा राजा उपस्थित हुने कार्यक्रममा हुन्छ। राप्रपाको भन्दा पनि पृथ्वीनारायण शाहको शालिक उद्घाटन गर्ने कार्यक्रम हो। राजाको त्यहाँ सवारी हुने भएकाले राप्रपाले त्यसको व्यापक तयारी गरेको छ।’

उनले देश सञ्चारसँग भने, ‘राजा,राजसंस्था र हिन्दुराष्ट्र हाम्रा मुख्य एजेन्डा हुन्। हामी राजालाई मानेर हिँडेका छौँ, राप्रपाको स्वयम् अध्यक्षसहित हाम्रो टिम झापामा राजा उपस्थित हुने कार्यक्रममा हुन्छ। राप्रपाको भन्दा पनि पृथ्वीनारायण शाहको शालिक उद्घाटन गर्ने कार्यक्रम हो। राजाको त्यहाँ सवारी हुने भएकाले राप्रपाले त्यसको व्यापक तयारी गरेको छ।’

राष्ट्रवादी आन्दोलनलाई सर्मथन गर्नुपर्छ भन्ने पार्टीको निर्णय र अध्यक्षको निर्देशन भएको शाहीको भनाइ छ।

व्यवसायी प्रसाईंको राजालाई गरेको समर्थनबारे प्रवक्ता शाही भन्छन्, ‘प्रसाईंले मात्रै होइन, राजालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि समर्थन गर्नुपर्छ। किनकि प्रचण्डले राजा नमानेपनि प्रचण्डको पनि राजा हो। प्रचण्ड पनि यो देशको प्रजा हुनुहुन्छ। राजसंस्था र जनता मिलेर देश बनेको हो। सोही मुलुकको प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ। यसको मतलब प्रचण्ड राजाको प्रजा हो। मान्नु,नमान्नु अर्को कुरा हो। राजा मान्दिन भन्नेले जुन दिन राजा मान्छन् त्यो दिन राजसंस्था स्थापित हुन्छ।’

राजेन्द्र लिङ्देनसँग पार्टी अध्यक्षमा पराजित भएपछि हारको आरोप दरबारलाई लगाउँदै पार्टीबाट बाहिरिएका कमल थापाले पनि राजसंस्थाको पक्षमा भएकाहरु एकजुट हुन गरेको आग्रहलाई शाहीले राजा र राजसंस्थाको शक्ति नै त्यसको उदाहरण भएको शाहीको तर्क छ।

उनले थपे, ‘हिजो हतियार बोकेकाहरु पनि राजा जिन्दावाद भन्दै हिँडिरहनुभएको छ। हिजो माओवादी भएर जेल बसेका दुर्गा प्रसाईं आज राजाको क्याम्पियन गरिरहनुभएको छ। राजा सबै दलका साझा हुन्। स्वतन्त्र नागरिकका पनि हुन्।’

व्यवसायी दुर्गा प्रसाईले पनि अभियानमार्फत राजसंस्थालाई सर्मथन गर्दै आएका छन्।

पृथ्वीनारायाण शाहको सालिक अनावरण कार्यक्रममा प्रसाईं समूहको पनि बलियो उपस्थिति रहने भनिएको छ। प्रसाईंले उठाएका एजेन्डा राप्रपासँग मेल खाने भएकाले अभियान मात्रै चलाउँछन् वा राप्रपामा नै सम्मिलित हुन्छन् भन्ने धेरैलाई चासोको बिषय बनेको छ।

राजनीतिक दलका नेताहरूको क्रियाकलापले नै राजाको पक्षमा अभियान र समर्थनहरु बढेका नकार्न मिल्दैन।

जनताले २०७४को चुनावमार्फत नेकपालाई झण्डै दुई तिहाई मत दिएर गणतन्त्र, संघीयता र संविधानलाई मजबुत बनाउद सहयोग गरेका थिए।

नेकपाको झगडा, असंवैधानिक तवरमा दुई पटकसम्म भएका सदन विघटन, राष्ट्रपति पदको दुरुपयोग भ्रष्टाचार र संवैधानिक निकायमा दलीय भागबण्डाले लोकतान्त्रिक–गणतन्त्रलाई सुदृढ हुन नदिएको प्रष्ट छ। दलहरुका यस्तै गतिविधिबाट मुलुक गुज्रिँदै आएर पछिल्लो आमनिर्वाचनसम्म आइपुग्दा नागरिक निकै चिन्तित बन्न पुगेका छन्। सरकार काम, दलका गतिविधि, नागरिकमा निराशा, आर्थिक संकट, सीमित उच्च पदस्थ अधिकारीको आलिसान जीवनशैली र भ्रष्टाचारजन्य गतिविधिले नागरिक राजसंस्थाप्रति आकर्षित भएका हुन सक्छन्। गत असोज पहिलो हप्ता पूर्वराजा शाह भक्तपुरको तलेजु भवानी लगायतको मन्दिर दर्शनको लागि पुग्दा जनलहर उत्रिएको थियो।

भिडलाई थाम्न सुरक्षाकर्मीलाई समेत हम्मे हम्मे पर्नु र राजा हेर्नकै लागि स्थानीयको थेगिनसक्नु भिड थियो। २०७८ मंसिरमा राजेन्द्र लिङ्देनसँग राप्रपा पार्टी अध्यक्षमा पराजित भएपछि कमल थापाले निर्वाचनमा दरवारको हस्तक्षेप भएको आरोप लगाएका थिए।

थापाले आरोप मात्रै लगाएनन्, पार्टीबाट नै बाहिरिएर राप्रपा नेपाल नामक पार्टी खोलेर त्यसको नेत्तृत्व गरिरहेका छन्। थापाले राजसंस्था पुनःस्थापनाको एजेन्डा असम्भव भएको भन्दै उक्त एजेन्डा छाड्न राप्रपालाई आग्रह गरेका थिए। तर उनै थापाले अहिले युटर्न भएर राजसंस्था पक्षधरहरुलाई एक हुन आह्वान गरेका छन्।

 

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्