जाजरकोट भूकम्प प्रभावितलाई एक लाख सहयोग

भूकम्प गएको राति आफू सुतेको कोठा देखाउँदै जाजरकोटका भूकम्पपीडित मनोज केसी।

दमौली – जाजरकोट भूकम्प प्रभावितका लागि तनहुँको भानु नगरपालिकाले आर्थिक सहयोग गरेको छ। नगरपालिकाले जाजरकोट भूकम्प प्रभावितका लागि रु एक लाख पाँच हजार आर्थिक सहयोग गरेको हो। उक्त रकम भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जाजरकोट पुगेर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन्।

भूकम्पबाट पीडित बनेकाको राहत र उद्धारका लागि नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थोरै भए पनि सहयोग गरिएको त्रिपाठीले बताए। भानु नगरपालिकाका प्रमुख त्रिपाठीको नेतृत्वमा वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको टोली जाजरकोट पुगेको थियो। त्यसक्रममा उनीहरुले भूकम्पमा परी मृत्यु भएका नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको परिवारप्रति समवेदना व्यक्त गरेका थिए।

यसअघि जिल्लाकै देवघाट गाउँपालिका र व्यास नगरपालिकाले भूकम्प पीडितका लागि रु पाँच –पाँच लाख सहयोग गर्ने निर्णय गरेको थियो। देउसीभैलोको रकम भूकम्पपीडितलाई व्यास नगरपालिका–४ वीरता टोल विकास संस्थाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम भूकम्पपीडितलाई सहयोग गरेको छ।

तिहारमा देउसी खेलेर सङ्कलित रु १० हजार ५५ संस्थाले जाजरकोट भूकम्पपीडितका लागि सहयोग गरेको हो। भूकम्प प्रभावित जनसमुदायको पीडामा मलमपट्टी लगाउने उद्देश्यले संस्थाले थोरै भए पनि सहयोग गरेको अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।

दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त रकमको भौचर आज प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई हस्तान्तरण गरिएको छ। टोल विकास संस्थाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम सामाजिक काममा सहयोग गर्नु सकारात्मक रहेको संस्थाका सल्लाहकार श्रीराम कार्कीले बताए।

 

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्