दिनभरिका १० मुख्य समाचार

जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ। उक्त क्षेत्रलाई सोमबारदेखि आगामी ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन्।

000

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ। दुबै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धता जनाएका छन्। युवा संघ र प्रसाईं पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएका थिए।

000

सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुमपश्चिम, बझाङ,बाजुरा र सल्यान जिल्लाका लागि उक्त रकम निकासा गरिएको हो।

000

मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व छठ पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न भएको छ। शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको छठको पहिलो दिन शुक्रबार ‘नहाय(खाए’ गरिएको थियो।

000

गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न पूर्व मुख्यसचिव लिलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो मन्त्रालयको कामलाई अझै प्रभावकारी र परिणाममूखि बनाउने गरी एकीकृत कार्य योजना बनाउन सो अध्ययन समिति गठन गरिएको जानकारी दिएका हुन्।

000

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्र कम्युनिष्ट पार्टी नभएको दाबी गरेको छन्। सोमबार देससञ्चारसँग कुरा गर्दै बिजुक्छेंले दुवै पार्टीले आफूलाई कम्युनिष्ट भने पनि उनीहरुसँग कम्युनिष्टहरुमा हुनुपर्ने आचरण नभएको टिप्पणी गरेका हुन्।

000

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सोमबार सुनुवाइ हुन सकेन। न्यायाधीश कुमार चूँडालको एकल इजलासमा सोमबार उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ हुन नसकेको हो।

000

तिहार र छठपछि सोमबार खुलेको शेयर बजारमा झिनो अङ्कको सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अङ्कमा कायम भएको छ।

विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा मंगलबार घरेलु मैदानमा नेपालले यमनलाई हराउनका लागि प्रतिस्पर्धा गर्ने बताएको छ। नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र कप्तान किरणकुमार लिम्बुले विश्वकप छनोटमा यमनविरुद्ध जित्नका लागि मैदान उत्रिने बताए।

मंसिर ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्