उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु

सांकेतिक तस्बिर।

विराटनगर- लक्ष्मी पूजाको रात मोरङको उर्लाबारी नगरपालिकामा भएको आगलागीमा परि घाईते भएका एक जनाको मृत्यु भएको छ ।

काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत ४३ वर्षीय तपन पण्डितको मंगलबार बिहान करिब पौने ३ बजे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आगलागीमा परि २४ जना घाइते भएकोमा ८ जनाको अवस्था गम्भीर रहेको छ। कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रञ्जनकुमार दाहालका अनुसार उर्लाबारी-७ का पण्डितको उपचारकै क्रममै मृत्यु भएको हो । प्रवक्ता दाहालका अनुसार घाइते ८ जनाको सघन उपचार केन्द्रमा राखिएको छ।

कार्तिक २६ गते लक्ष्मी पूजा गर्दै गर्दा स्थानीय दीपक कार्कीको स्नेहा सुनचादीको पसलमा एकाएक आगलागी भएको थियो । राती करिब साढे १० बजे आगलागी भएसँगै प्रहरी र वरपरका स्थानीयले आगो निभाउने प्रयास गरेका थिए । आगलागीका क्रममा घरमा रहेको बा ०१-०२५ च ६८४६ नम्बरको कार विष्फोट भएको थियो । अचानक कार विष्फोट भएपछि आगो निभाउन खटिएका ४ प्रहरी र २४ जना स्थानीय घाइते भएका थिए ।

प्रहरीका अनुसार आगोले कार्कीको घरमा रहेको सुनचाँदी पसलसहित फर्निचर पसललाई भेटेको थियो । यद्यपि सुनचाँदी पसल, ईन्टरनेट प्रदायक संस्था भायानेटको कार्यालयमा पूर्ण क्षति भएको छ। प्रहरीका अनुसार आगलागीबाट ३ करोड ४१ लाखभन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ ।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्