नेपालमा कार्वन उत्सर्जन शून्य बनाउन कुनै चुनौति छैनः मन्त्री महत

फाइल तस्बिर ।

काठमाडौं- अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा कार्वन उत्सर्जन शून्य बनाउन कुनै चुनौति नरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

कार्वन उत्सर्जन कम गर्न नेपालको ४५ प्रतिशत वन जङ्गल बनाएको विषयलाई विश्वले प्रशंशा गर्नुपर्ने बताए । उनले नेपालले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्वन उत्सर्जन कम गर्नको लागि ४५ प्रतिशत भू-भाग जङ्गलका रुपमा स्थापित गरिरहेको बताए ।

अर्थमन्त्री महतले कार्वन उत्सर्जन कम गर्न सवारीसाधनहरु समेत विद्युतीयमा परिमार्जन भइरहेको उल्लेख गरे । उनले सन् २०४५ भित्र विशुद्ध शुन्य कार्वन उत्सर्जनमा पुग्ने लक्ष्यमा विश्वले कुनै शंका नराख्न आग्रह गरे । उनले नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको समस्या कार्वन उत्सर्जन शुन्य बनाउँदैमा मुक्त नहुने भन्दै अन्य विकसित देशले पनि पूरा गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले विकशित देशले उत्सर्जन गरेको कार्वनको कारण भएको जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको बताए । उनले नेपालका हिमालहरुको हिउँ पग्लिएको नेपालले कार्वन उत्सर्जन गरेको कारणले नभएर अन्य देशको कारणले भएको भन्दै विकसित मुलुकहरुले जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्नको लागि आर्थिक सहयोग गर्नुपर्ने बताए । उनले जलवायु परिवर्तन न्युनिकरणको लागि विभिन्न फण्डहरुबाट पाउनुपर्ने सबै सहयोग नेपालले पनि पाउनुपर्ने माग कोप सम्मेलनमा राखिने बताए ।

उनले भने,‘नेपालको ४५ प्रतिशत जमिनमा जङ्गल स्थापित गरिसकेका छौं । सन् १९९० देखि ३० प्रतिशत रहेकोमा अहिले ४५ प्रतिशत पु¥याएका छौं । नेपालले अक्सिजन धेरै उत्पादन गर्ने र कार्वन उत्सर्जन कम गर्ने काम गरिरहेका छौं । यसलाई विश्वले प्रशंसा गर्नुपर्छ । अहिले नेपालको जलवायु सम्बन्धि चुनौति भनेको कार्वन उत्सर्जन शुन्यमा बनाउन सक्छ की सक्दैन भन्ने होइन । त्यो नेपालले गर्दैछौं । त्यो नेपालले गर्छ । नेपालले एक्सनबाट नै बताइसकेका छौं । कार्वन उत्सर्जन कम गर्न सवारीसाधनहरु समेत विद्युतीयमा परिमार्जन भइरहेका छन् । अहिले विद्युतीय सवारी साधनहरुको माग उच्च छ । त्यसैले नेपालले राखेको सन् २०४५ भित्र विशुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्य कुनै शंका छैन । नेपालले एक्सन र तथ्याङ्कबाट प्रमाणित गर्छ । तर नेपालले कार्वन उत्सर्जन शुन्य बनाउँदैमा जलवायु परिवर्तनको प्रभाव नेपालले भोगिरहेको छ । त्यसमा नेपालले कार्वन उत्सर्जन शुन्य बनाउँदैमा जलवायु परिर्वतनको प्रभावबाट नेपाल मुक्त हुन्छ ? हुँदैन । त्यसको लागि धेरै कार्वन उत्सर्जन गरी रहेका छन् । उनीहरुले त्यो पूरा गर्नुपर्छ । त्यो हामी पूरा गर्न सक्छौं र गछौं । अरु देशले पनि प्रतिवद्धता पूरा गर्नुपर्छ । विकसित देशले उत्सर्जन गरेको कार्वनबाट नेपालले भोगि रहेको छ । नेपालका हिमालहरुको हिउ पग्लिएको नेपालले कार्वन उत्सर्जन गरेको कारणले नभएर अन्य देशको कारणले हो । विकशित मुलुकहरुले जलवायु परिर्वतनले पारेको असर न्युनिकरण गर्नको लागि सहयोग चाहियो । नेपालका ठूला आयोजनाहरुको लागत कस्ट बढ्ने गरेको छ । त्यो बढेको कस्ट व्यहोर्ने की न व्यहोर्ने ? नेपालमा जलवायु परिर्वतनले पारेको असर न्युनिकरण गर्ने डोनर एजेन्सीहरुबाट सहयोग लिएर नेपालमा रिपोर्ट मात्रै प्रश्तुत गर्ने भन्दा पनि अब यकिन कार्यक्रम ल्याउनपर्छ । जलवायु परिवर्तन न्युनिकरणको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुले नेपालले जलवायु परिर्वतनको ठूलो असर भोगि रहेको छ नेपालको माग वास्तविक हो भन्ने कुरा कोपमा राखिदिनु पर्छ । सन् २०३० भित्र हाम्रा कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्नेछौँ ।’

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्