शिक्षा नीतिलाई युवाउपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशमै राख्नेछौं: प्रधानमन्त्री

फाइल तस्बिर।

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनउपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन्।

मंगलबार काठमाडौंमा एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीकाे उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले उच्च शिक्षाका निम्ति बर्सेनि लाखौं विद्यार्थीहरू विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक देखिएको बताए।

उनले शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या युवा विद्यार्थीहरूको विदेश पलायन रहेको बताए।

उनले विद्यार्थी देश बाहिर पढ्न जाने र नेपालका विद्यालय तथा विश्व विद्यालय खाली हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी विदेश पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती बनेको बताए।

शिक्षा नीतिलाई युवाउपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशकै विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री दाहालकाे भनाइ छ।

उनले विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्नुपर्ने बताए।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्