भूकम्प प्रभावित क्षेत्र अस्थायी टहरा बनाउन कांग्रेसले १३ टोली खटाउने

फाइल फोटो।

काठमाडौँ– कांग्रेसले भूकम्प प्रभावित रुकम पश्चिम र जाजरकोटमा अस्थायी टहरा निर्माणका लागि विज्ञसहितको निर्माण टोली खटाउने भएको छ।

मंगलबार महामन्त्री गगन थापाको संयोजकत्वमा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरु एवं भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको बैठकले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका पिडित परिवारलाई यथाशिघ्र अस्थायी घर टहरा निर्माण गर्न पार्टीको तर्फबाट श्रमदान गर्ने निर्णय गरेको हो।

प्रवक्ता मीन विश्वकर्माका अनुसार पीडित परिवारलाई यथाशिघ्र अस्थायी घर टहरा निर्माण गरिदिन यथाशिघ्र एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरी १०/१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने निर्णय भएको छ। उक्त समूहहरुले एक हप्ता काम गरिसकेपछि क्रमिक रुपमा अर्को १३ वटा समूहले पालो दिनेछ।

त्यस्तै कांग्रेसले श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गर्न प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सकहरु परिचालन गर्ने निर्णय गरेको छ। प्रभावित क्षेत्रमा पठनपाठन सुचारु गर्न आवश्यक भौतिक तथा अन्य बन्दोवस्त मिलाउन नेपाल शिक्षक संघले सामूहिक रुपमा कार्य गर्ने, नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नै खर्चमा हाल चार वटा अस्थायी विद्यालय र चाँडैनै दुई वटा स्थायी पक्की विद्यालय भवन बनाउने जानकारी विश्वकर्माले दिए।

नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय कार्यसमितिले भूकम्प प्रभावित क्षेत्रका अति विपन्न तथा जीविकोपार्जनका माध्यम गुमाएका असहाय परिवार तथा श्रमिकको पुर्नस्थापना सम्वन्धी अध्ययन गरि आवश्यक साधन स्रोत उपलव्ध गराई सहयोग पुर्‍याउने प्रतिबद्धता पनि कांग्रेसले जनाएको छ।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्