कथम् यो मेरो सपना भइदिएको भए !

“आज स्कुलमा नाम लेखाउने दिन रे, माथिको आदेश अनुसार नै भाग्यश्री गाउँलेहरुलाई भेट्न आएकी हुन् रे,” नारद काकाले  एकै श्वासमा भनेर गए। छोराले विदेशबाट पठाएको तलब थाप्न हिँडेका काका भन्दै गए, ” तँ पनि गएर लेखाइहाल आफ्नो नाम।”

काकाको कुरा सुनेर मलाई अचम्म लाग्यो। काकाले आफ्नो नाम लेखाए त? अनि विदेशमा हुने छोराको नाम लेखाउने त कुरै गरेनन्? रेमिटेन्सको ओखतीले काकाको स्मरण शक्ति र जाँगर दुवै बिराम भएछ। अनि अर्को कुरो, आफ्नो नामकरण आफैँ गर्ने कि दुनियाँका लागि छाड्दिने ? हैन, दुनियालाई जिम्मा दियो भने त आफ्नो छनौट अनुसारको नाम हुँदैन। दुनियाँको सहजता अनुकूलको नाम मेरो हितकारी हुन्छ ? मेरो चरित्र एकथरी अनि समाजले दिने नाम अर्कै थरि भयो भने के गर्ने ?” म अक्क न बक्क भएँ।

ए , स्वार्थी कति धेरै समान ल्याको?” साइकलको चेन मिलाउँदै गर्दा पछाडि धाप मार्दै एउटा आवाज आयो। मेरो स्कुलको साथी रैछ। यसको पनि नाम त धेरै छन् । बाउले बोलाउने नाम- भुस्तिघ्रे, स्कुलमा सबैले भन्ने- भुस्कोल अनि गाउँ-समाजले दिएको नाम चाहिँ- भतुवा।  तर म चाहिँ सुन्दर  भनेर बोलाउँछु।

अँ, घरको सौदा, मेरो र दिदीको चैते दशैंको लुगाफाटाले साइकल भरियो। बाले दिदीलाई घरबाट बाहिर निस्किन दिनुहुन्न। कडा निगरानीमा राख्नु हुन्छ। बम्बैको हावाले दिदी बिरामी हुन्छे भन्नु हुन्छ। जेलमै बसेसरह छ दिदीलाई। त्यसैले सबै बाहिरको काम मैले नै गर्नु पर्छ।

अनि तँलाई चाहिँ त्यो हावाले केही पनि हुँदैन?

अँह हुँदैन, त्यो हावाले छोरी मान्छेलाई मात्र छुन्छ रे। खै , कस्तो विभेदकारी हावा हो।  छोरा जातिलाई आराम तर छोरी जातिलाई बिराम पार्ने?

अहो, कति धेरै मान्छे लाम लागेर बसेका आफ्नो नाम लेखाउन्। स्कुल पुगिसकिएछ। यस्तो भिड स्कुलमा मात्र दुइटा अवस्थामा देख्न पाइन्थ्यो , कि त चुनावमा उम्मेद्वारलाई मतदान गर्न वा सरकारी भत्ता थाप्न। आज त भिड त्यो भन्दा भीषण छ।  अरुले दिने नामको यति धेरै महत्व हुन्छ र?

ओइ हेर्न, त्याँ प्रिन्सिपल सर पनि आउनु भाको रैछ नाम लेखाउन, भन्दै सुन्दर  त्यही भिडतिर लम्कियो। ऊ प्रिन्सिपल सरभन्दा अगाडि गएर आफ्नो नाम लेखाउन निकै नै लालायित देखिन्थ्यो। रहर हो कि बाध्यता थाहा भएन तर सुन्दरभन्दा राम्रो अरु के हुन्छ र ? सुन्दर चञ्चलताको “ता” खोस्न गयो कि मौनताको “ता” टाँस्न गयो ? कथम भाग्यश्रीले नामको पछाडि “विहीन” पनि थपिदिइन् भने नि ?

ओइ, लाटो, कसलाई खोजेको यत्रो भिडमा आँखै नझिम्काई?” मलाई नियाल्दै पिपलको रुखको फेदमा पिर्कामा पलेँटी मारेर बस्नुभएको, परामर्शदाता सर चिच्याउनु भयो। परामर्शदाता सरको घरठेगाना मलाई थाहा छैन। उहाँ यो गाउँको पनि हैन तर मेरा बा को परममित्र हुनुहुन्छ। खै, के भेउ पाएर हो, बाले सधै परामर्श सरको संगत गर्नु, उहाँले भनेको कुरा सुन्नु ,मान्नु, यो गाउँ भरि उहाँ मात्र परहितैषी हो, भन्नुहुन्छ।

“सुन्दरलाई खोजेको सर, यहिँ मसँगै थ्यो अघिसम्म, ठूलो नाम लेखाउँछु भन्दै दौडेको मान्छे, प्रिन्सिपल सर पनि उभिएको त्यो भिडमा कता हरायो, हरायो,” त्यो उराठ जमातमा म सुन्दर खोज्दै थिए।

ह्या गोज्याँग्रो, यो नाथे गाउँमा नाम लेखाएर केही हुनेवाला छैन। यहाँ त भाग्यश्रीले झुटको पानामा सपनाको मसीले नाम लेखिरहेकी छिन्। नपत्याए लाहुरे काकालाइ सोध्, ” भन्दै झोँक्किए परामर्श सर।

‘यो तोरीलाहुरेलाई कति भनिसकेँ, फलो आइ एल्स नट एब्रीबडी एल्स। म्यान- पावर इज रिअल म्यानपावर। कुरै बुझ्दैन। राहदानीको पानामा छानिछानी बिपनाको मसीले नाम लेख्न मन छ कि छैन?” लाहुरे काका पनि आँखा राताराता पार्दै मसँग कड्किए।

कस्तो कठोर प्रश्न हो यो? मेरो त अहिलेसम्म नामकरण नै भएको छैन, मैले कुन नाम लेखाउनु? मनमा कुराहरु खेल्दै थिए।

त्यति नै बेला, समात्…..समात्, त्यो चोरलाई समात्, भन्दै एक हुल मान्छे एउटा ढाडेलाई लखेट्दै स्कुलतिरै आउदै थिए। त्यो ढाँडे हाम्रा छोरीचेलीका रहरका पोकाहरुमा बम्बै सहरको विषाणू मिसाएर कहर फैलाउने दूत थियो। यसैको डरले बाले दिदीलाई घरबाट बाहिर जान निषेध र मलाई घरबाट बाहिर जान आदेश गर्नुभएको थ्यो।

“ए, घोसे त्यसलाई समात्, भाग्न न दे,” मेरा बा त्यहीँ भिडबाट मलाई कराउँदै हुनुहुन्थ्यो । मैले पनि नाकामै समातेर त्यसलाई पहरेदारको जिम्मा लगाइदिएँ।

बेलुकी बजारबाट सौदा किनेर घर पुग्दाको दृश्य आश्चर्यचकित पार्ने थियो। आँगनभरि शब्दकोषका पानाहरु छरिएका थिए अनि ती पानाहरुमा जवानीले नछाडेका र बुढ्यौलीले नछोएका व्यक्तिहरु झुम्मिएका थिए, आ-आफ्नो नाम खोज्नलाई। त्यो दृश्य आँगनमा बास बस्नु अगाडि दाना टिप्दै गरेका परेवाका जस्ता देखिन्थे। यी त शिकारीको गुलेलीले पनि तर्साउन नसक्ने स्थितिमा पुगिसकेका थिए। एकाग्रताको उदाहरण सायद यही हुन सक्छ।

आजको दिन मेरो लागि निकै खुशीको दिन थ्यो, भलै मैले मेरो नाम अहिलेसम्म पाएको थिइन। मलाई ढाडेको कैदभन्दा पनि दिदीको रिहाइमा खुशी लागेको थ्यो। सायद दिदीको कैद भुक्तान भएको हुनुपर्छ। परन्तु एउटा सवाल के भने, चोर त् समातियो तर के यी सज्जनहरुबाट चाहिँ समाज सुरक्षित छ त?

आज घाम पनि झुल्किन समय लागिरहेको बेला, परामर्श सर एकाबिहानै आफ्नो घरबाट मेरो घर समय नै नलगाई आउनु भएछ, हातमा शब्दकोष बोकेर। बासँग खासखुस गरिसकेपछि त्यो शब्दकोष मेरो हातमा थमाउँदै भन्नु भयो , “ओइ लाटो, मैले तँलाई भनेर विदेशबाट शब्दकोष झिकाको छु, यसमा आफ्नो नाम खोज।”

नाम पनि खोजेर पाइन्छ ? मलाई त परामर्श सरकै नाम चित्त बुझेको थिएन। फेरि त्यो शब्दकोषभित्र सबै अंग्रेजी नाम मात्रै, नेपाली भनेको त त्यो किताबको पछाडि टाँसेको मूल्य मात्र थ्यो, रु ५५५।

“हुन्छ सर म हेरेर भन्छु नि ” भन्दै म त्यो कथित महायज्ञबाट तर्किए।

बेलुकी बजारबाट सौदा किनेर घर पुग्दाको दृश्य आश्चर्यचकित पार्ने थियो। आँगनभरि शब्दकोषका पानाहरु छरिएका थिए अनि ती पानाहरुमा जवानीले नछाडेका र बुढ्यौलीले नछोएका व्यक्तिहरु झुम्मिएका थिए, आ-आफ्नो नाम खोज्नलाई। त्यो दृश्य आँगनमा बास बस्नु अगाडि दाना टिप्दै गरेका परेवाका जस्ता देखिन्थे। यी त शिकारीको गुलेलीले पनि तर्साउन नसक्ने स्थितिमा पुगिसकेका थिए। एकाग्रताको उदाहरण सायद यही हुन सक्छ।

कति निरङ्कुश हुदो रैछ समय, कसैको अधिनमा नरहने। यो समयको परिस्थितिमा मैले पनि प्रतिष्पर्धा गर्नु छ। यो मेरो लेखान्त हो कि सिर्जित दु:खान्त? मेरो यतिबेला यौटै कामना मेरा लागि एउटा पनि शब्दकोषका पाना बाँकी नरहून भन्ने थियो। तर भाग्यले मात्रै साथ दिने भए कर्मको खोजी किन हुन्थ्यो र?

“ओइ बेबकुफ, मैले एउटा पाना लुकाएर राखिदिएको छु। यसमा हेरेर एउटा नाम खोजिहाल छिट्टै,” हप्काउँदै तर फ़काउँदै बाले मलाई साउती लगाउनु भयो।

पुलुक्क बाको चाउरिएको अनुहारमा हेरेँ, कलेँटी परेको ओठलाई हेरेँ। रंगिन सपनाले भरिएका आखाँका डिलमा हेरेँ। आज मैले बाभित्रको बालाई नियालेर हेरेँ।

सायद बा मनैमन भन्दै हुनुहुन्थ्यो, यी जासुसहरुको जासुसी मलाई पनि थाहा छ छोरा तर बाध्यताको समुन्द्रमा धैर्यताको बाँध नटिक्ने रैछ।

बिचरा, मेरा बा पनि कति अभागी हुनुहुदो रैछ, एउटा सन्तानको रिहाइमा खुसी हुँदै गर्दा अर्को सन्तानको कैदमा दु:खी हुनुपर्ने।

यति भयानक बिपनाको त कल्पना पनि नहोस्। कथम् यो मेरो सपना भइदिएको भए!!

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्