सहकारीको रकम हिनामिना गरेर फरार भएका देवकुमारले भनेः एकैपटक बचत फिर्ता माग्दा समस्या भयो

फाइल।

पोखरा – सहकारीका बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका ढोरपाटन नगरपालिका बाग्लुङका मेयर देवकुमार नेपालीले फेसबुक लाइभमा असुरक्षाको कारण आफू भाग्न बाध्य भएको बताएका छन्।

बागलुङमा प्रधान कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्षसमेत रहेका नेपाली सहकारीको रकम हिनामिना गरेर ५ जेठदेखि फरार थिए। बाग्लुङको बागलुङ बजार, गल्कोट, बुर्तीबाङ र पोखराको न्युरोडमा रहेको सहकारीले रकम फिर्ता नगरेपछि बचतकर्ताको बिचल्ली छ।

६ लाख रुपैयाँ राखेका बचतकर्ताले आफ्नो घर हडप्न खोजेपछि केही समय घरबाहिर बस्न बाध्य भएको उनको भनाइ छ। ‘मैले सहकारीमा समस्या परेपछि सबै शेयर सदस्य तथा बचतकर्ता साथीहरुको विशेष भेला राखी बचतकर्ताको बचत फिर्ता गर्न ६ महिनाको समय अवधि राखिएको थियो। तर, केही साथीहरु मेरो घरमा हतियारसहित आइ मलगायत मेरो श्रीमती अनि स्यानो छोरीको ज्यान मार्ने धम्कीसमेत दिइयो,’ मंगलबार फेुसबुक लाइभमा उनले भनेका छन्।

देवकुमारले अगाडि थपे, ‘६ लाख बचत भएको व्यक्तिहरुले ५ करोडको घरजग्गा मेरो नाममा पास गरिदिने भनेर दबाब दिएको कारण म केही समयको लागि घरबाहिर बस्न बाध्य भएँ।’

उनले यो समस्या इमेज सहकारीको मात्रै नभएर नेपालका सबै सहकारीको समस्या भएको जिकिर गरेका छन्। उनले बचत फिर्ता गर्न ढिलाइ भएकोमा माफी माग्दै भने, ‘म त्यहाँ नभएको कारणले धेरै टिकाटिपप्णी आएका छन्, मैले बुझेको छु। हामीहरु इमेज सहकारीको समस्या व्यवहारिक तरिकाले समाधान गर्नतर्फ जानपर्छ र जान पनि खोजेका छौँ।’

उनले कतिपय सहकारीमा १६ अर्बको समस्या पनि रहेको भन्दै आफूलाई चोख्याउने प्रयास फेसबुक लाइभमै गरे। आफू सम्पत्ति नै नभएको व्यक्ति नभएको र नुनदेखि सुनसम्मको चल अचल सम्पत्ति त्यहीँ राखेको बताए।

सहकारी राम्रो बनाउने र बिगार्नेमा कर्मचारीको पनि हात हुने उल्लेख गरेका छन्। ‘म विगत ७ वर्षदेखि ढोरपाटन नगरपालिकाको नगर प्रमुख पद जिम्मेवार भएर बुर्तिबाङमा बस्ने भएकाले सहकारीमा समय दिन नसकेको कारण र मैले बचतकर्ता साथीहरु एकैपटक बचत फिर्ता माग्न आउँदा सहकारीमा समस्या भएको हो’, नेपाली भन्छन्, ‘यसबारेमा सबैलाई जानकारी छ, एकैपटक बचत फिर्ता लिन जाने हो भने बैंकहरुमा पनि समस्या हुन्छ, यो पनि सबैले बुझेकै हो। मलाई असफल पार्नका लागि अलिकति राजनीतिक कुरा पनि जोडिएको छ।’

उनले संघर्ष समितिमा बसेर खातामा १० हजार निक्षेप रहेर १० लाखको निवेदन दर्ता गराएको आरोप लगाए। बचतकर्ताको निवेदन परेपछि २८ वैशाखमा पोखरा महानगरपालिकाको सहकारी शाखामा देवकुमारले बचकर्ताको रकम फिर्ता गर्ने लिखित सहमति गरेका थिए।

सहकारीले १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै बागलुङका १ हजार ४ सय ८१ जना बचतकर्ताले सञ्चालक, कर्मचारीसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका थिए। यस्तै, पोखरामा ६४ करोडको माग गर्दै ५२५ जनाले प्रहरीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए।

इमेज सहकारी पोखराका अध्यक्ष चित्रबहादुर भण्डारी, बागलुङ शाखाका प्रबन्धक शक्ति किसान लेखा प्रमुख लालमति रोकासहित ६ जना पक्राउ परेका थिए। डिएसपी विकका अनुसार २ जना पुर्पक्षका लागि थुनामा छन्। अरु ४ जना घरौटीमा रिहा भएका छन्।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्