बूढानीलकण्ठ स्कुलको नयाँ प्रिन्सिपल नियुक्ति प्रक्रिया २० दिन पर सर्‍यो

काठमाडौँ- काठमाडौँस्थित बूढानीलकण्ठ स्कुलको नयाँ प्रिन्सिपल नियुक्ति प्रक्रिया २० दिन पर धकेलिएको छ। दरखास्त दिएकामध्ये संक्षिप्त सूचीमा परेका सात जनाको बुधबार अन्तर्वार्ता हुने पूर्वनिर्धारित कार्यक्रम मंसिर २६ गतेको लागि सारिएको छ।

स्कूलले एक सूचना जारी गरी प्राविधिक कारणबस प्रिसिन्पल नियुक्ति प्रक्रिया सार्नुपरेको जनाएको छ। बूढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीको विधान, २०५९ को दफा २४ बमोजिम गठित उपसमितिको सिफारिसमा स्कुल व्यवस्थापन समितिले प्रिन्सिपल नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो।

प्रिन्सिपलको लागि दरखास्त दिएकामध्ये संक्षिप्त सूचीमा परेका सात जनाहरुमा अतिराम केसी, उपेन्द्र अधिकारी, केशरबहादुर खुलाल, गणेशप्रसाद शर्मा, तिमिला शाक्य आचार्य, दीपकप्रसाद कायस्थ र हरिराम तिवारी छन्।

कम्तीमा माध्यमिक (कक्षा १२) विद्यालय स्तरको प्रिन्सिपल वा भाइस प्रिन्सिपल वा बूढानीलकण्ठ स्कूलको शिक्षकका रुपमा कम्तीमा १० बर्षको शैक्षिक तथा प्रशासनिक अनुभव हासिल गरेको र ४० बर्ष उमेर पूरा भएकाले दरखास्त दिन आह्वान गरिएको थियो।

स्कूलको तीन सदस्यीय प्रिन्सिपल छनोट उपसमिति सरकारका पूर्वसचिव महेश प्रसाद दाहालको संयोजकत्वमा गठन भएको छ।

 

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्