दिनभरिका १० मुख्य समाचार

न्याय परिषदले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश सिफारिस गरेको छ। मंगलबार प्रधानन्यायाधीश एवं परिषदका अध्यक्ष विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले चार जना उच्च अदालतका न्यायाधीश र दुई जना कानुन व्यवसायीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो।

000

न्याय परिषदले लामो समयदेखि उच्च अदालतहरुमा रिक्त रहेको मुख्य न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषदको बैठकले ६ जना मुख्य न्यायाधीश नियुक्त गरेको हो। दिपायलमा कार्यरत मुख्य न्यायाधीश नृपध्वज निरौलालाई पाटन उच्च अदालतमा सरुवा गरिएको छ। उनी स्वतः सर्वोच्चको न्यायाधीशमा सिफारिस हुनुपर्ने भए पनि मंगलबार उनलाई पन्छाएर जुनियरहरुलाई ल्याइएको छ।

000

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंसिर ७ मा विरोध प्रर्दशनको लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ उपत्यकाको बल्खु र युवा संघलाई तिनकुने क्षेत्र तोकिदिएको छ। दुवै पक्षले एकैदिन माइतिघर मण्डला क्षेत्रमा प्रर्दशन गर्ने भनेपछि माइतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको स्थानलाई निषेधित क्षेत्र घोषणा गरेर प्रसाईंलाई बल्खु र युवा संघलाई तिनकुने तोकिदिएको हो।

000

माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता स्वागत नेपालले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटको पेशी बुधबारका लागि तोकिएको छ।

000

सर्वोच्च अदालतले टिकटकमाथि रोक लगाउनुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ। नेपालमा टिकटक रोक लगाउने निर्णयविरुद्ध सर्वोच्चमा दर्ता भएका १४ वटा रिटमाथि संयुक्त रुपमा सुनुवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार कारण देखाउन आदेश जारी गरेको हो।

000

जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकको मन्त्री निवास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

000

द्विसदनात्मक संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदै छन्। समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभामा पहिलोपटक गोलाप्रथाद्वारा छवर्षे कार्यकाल निर्धारण भएको समूह बिदा हुँदै छ।

000

कांग्रेसले भूकम्प प्रभावित रुकम पश्चिम र जाजरकोटमा अस्थायी टहरा निर्माणका लागि विज्ञसहितको १३ निर्माण टोली खटाउने भएको छ। मंगलबार महामन्त्री गगन थापाको संयोजकत्वमा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरु एवं भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको बैठकले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका पिडित परिवारलाई यथाशिघ्र अस्थायी घर टहरा निर्माण गर्न पार्टीको तर्फबाट श्रमदान गर्ने निर्णय गरेको हो।

000

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले यू–१९ विश्वकपको अधिकार श्रीलंकाबाट दक्षिण अफ्रिका सारेको छ। आइसिसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेसँगै श्रीलंकाबाट यू–१९ विश्वकपको आयोजनाको जिम्मेवारी खोस्न सक्ने चेतावनी दिएको थियो।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्