थुनुवा कक्षमा पुस्तकालय

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय महोत्तरीको थुनुवा कक्षमा पुस्तकालय सञ्चालनमा आएको छ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबीच गत साउन २९ गते भएको कार्य सम्पादन सम्झौताअनुसार जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा पुस्तकालय सञ्चालन गरिएको महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

मंगलबार मधेस प्रदेशका डिआइजी जनक भट्टराईले उक्त पुस्तकालयको उद्घाटन गरे। पुस्तकालयको उद्घाटन गर्दै डिआइजी भट्टराईले थुनुवा कक्षमा विभिन्न अनुसन्धानका लागि ल्याइने आरोपीहरूलाई खाली समय थोरै भए पनि ज्ञान आर्जन गर्न सहयोग पुग्ने बताए।

उनले अन्य थुनुवा राख्ने इलाकाहरूमा समेत पुस्तकालय राख्न मिल्ने भएमा त्यसको लागि समन्वय भइरहेको बताए।

एसपी मल्लले विभिन्न किसिमका फौजदारी अभियोग लागि कानूनी हिरासतमा रहने थुनुवाहरुको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले पुस्तकालय सञ्चालनमा ल्याएको बताए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको थुनुवा कक्षमा हाल तीन सय ९० थान विभिन्न पुस्तक अध्ययनका लागि राखिएका छन्।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्