लोप उन्मुख अवस्थामा कुसुन्डा भाषा, सरोकारवाला भन्छन्,’संरक्षणमा सरकारले ध्यान दिन्छ’

दाङ- पछिल्लो समय कुसुन्डा जातिको भाषा, कला, संस्कृति लोप हुने अवस्थामा पुगेको छ। नेपालमा हाल एक सय ६५ जना कुसुन्डाको बसोवास रहेको पाइन्छ।

यस समुदायका मानिसको संख्या घट्दै जाँदा भाषा, कला र संस्कृतिसमेत लोप हुने अवस्थामा पुगेको छ।  जसको संरक्षण गर्न ध्यान दिनुपर्नेमा सरकारले पनि जोड दि‍एको छ।

दाङसहित मुलुकको पश्चिम भेगका  केही जिल्लामा अझैं पनि कुसुन्डा समुदायको बसोवास रहे पनि अन्य समुदायका मानिसहरू हावी हुनुले यस जातिको मातृभाषा लोप हुने अवस्थामा रहेको पाइएको छ। यस जातिको भाषा संरक्षणको लागि सरकारी स्तरबाट केही प्रयासहरू भए पनि समुदाय विकासको लागि भने खासै काम हुन सकेको छैन।

मुख्य त: जंगलका कन्दमुल खाएर हुर्केका कुसुन्डा जाति समाजमा बस्न थालेपछि उनीहरूले बोल्ने भाषा, अंगालेको कला र संस्कृतिसमेत हराउन थालेको हो। हाल नेपालमा १६५ जना कुसुन्डा रहे पनि एक जना मात्रै पूर्ण रुपमा मातृभाषा बोल्नसक्ने रहेको तथ्यांक छ। ‘हामीहरू छरिएर रहेका छौं। एकै ठाउँमा बसोवास भयो भने भाषा, कला संस्कृति जोगिन्थ्यो’ कुसुन्डा समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले भने,’एकिकृत बस्ती चाहिएको छ।’

कुसुन्डा जातिको भाषा संरक्षण गर्न भाषा कक्षासमेत सञ्चालन गरिएको थियो। चार बर्षको अवधीमा २० जना विद्यार्थीलाई कुसुन्डा भाषा बोल्न, लेख्न र पढ्न सक्ने बनाइएको छ। दोहोरो कुरा गर्ने व्यक्ति नहुँदा कुसुन्डा जातिले बोल्ने भाषा हराउँदै जान थालेको छ। एक दशकदेखि कुसुन्डा जातीको अध्ययन अनुसन्धानमा समय विताएका उदयराज आलेले कुसुन्डा जातिमा आधारित बृत्तचित्रसमेत निर्माण गरेका छन्। ‘कुसुन्डा जातिको बारेमा अध्ययन गर्न दश वर्ष बिताएँ। अझैं यसमा काम भइरहेको छ’ उनले भने,’सरकारले भाषा संरक्षण गर्न ध्यान दिनुपर्छ।’

लोपन्मुख भाषा, कला, संस्कृती संरक्षण गर्नेगरी संवैधानिक व्यवस्था गरिएको छ। त्यही आधारमा नेपाल सरकारले सबै लोपन्मुख जातिको भाषा, कला, संस्कृती संरक्षण गर्नेगरी कार्यक्रम बनाउने नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।

कुसुन्डा समुदायको बृतचित्र‍ हेर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासहित ‍जनप्रतिनिधि।

देउखुरी उद्योग बाणिज्य संघले बृत्तचित्रको विमोचन कार्यक्रम राखेको थियो। सोही कार्यक्रममा मन्त्री शर्माले समाजको मुल प्रवाहमा कुसुन्डा जातिलाई ल्याएर उनीहरूको भाषा, कला संस्कृति संरक्षण गरिने बताइन्। ‘समाजको मुल प्रवाहमा ल्याउँदै उहाँहरूको भाषा, कला संस्कृति संरक्षण गर्न आवश्यक छ’ उनले भनिन्,’एकीकृत बस्ती सुन्दा राम्रो छ। तर, त्यसलाई कार्यान्वयन गर्न जटिल छ। यसमा के गर्न सकिन्छ छलफल गरौं।’

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लोपमन्मुख जाति समुदायको संस्कार, संस्कृती संरक्षण गर्न स्थानीय सरकारले पनि ध्यान दिने बताए। देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले समुदायको कला संस्कृति देशको राष्ट्रिय सम्पत्ति भएकाले यसलाई बचाउन जरुरी रहेको बताए। यस्तै देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोख्रेलले कला संस्कृतिको संरक्षण जरुरी रहेको धारणा राखे।

नेपाली समाजको इतिहाससँग जोडिएका कुसुन्डा जातिको कला, संस्कृती र भाषा विस्तारै लोप हुने अवस्थामा पुगेकाको बताउँदै यसको संरक्षण गर्न विशेष कार्यक्रम बनाउन जरुरी रहेको सम्बन्धित सरोकारवालाहरूको भनाइ छ।

मंसिर ८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्