जाने होइन त मर्दी ट्रेक ?

फाइल तस्बिर

अध्याँरो रात, मोबाइलको टर्च बालेर छामछुम गर्दै छंगाछुर भीरको बाटो काट्ने हतारोमा लस्कर थियो। हिमाल र बतासबीच साउती चलिरह्यो। जति उकालो चढिन्छ, उति नै टाढा लाग्न थाल्छ- पुग्नुपर्ने गन्तव्य। उकालोमा स्याँस्याँ गर्दै पदचाप लम्काइरहेको लस्करलाई लाग्छ, ‘डाँडा त जति हिँड्यो झन् पर सरेको सर्‍यै छ।’

छिटोमा २ घण्टा उकालो चढेपछि पुगिन्छ, भ्युपोइन्ट। उज्यालोको चहकले अध्याँरोलाई विस्तारै जित्छ। पूर्वबाट घामको पहिलो झुल्को निस्कनासाथ अन्नपूर्ण साउथ र हिमचुलीको चुचुरो सुनौलो देखियो। घामको किरण बढ्दै गएपछि माछापुच्छ्रेसँगै मर्दी, गंगापूर्ण, गन्धर्वचूलीलगायत हिमालका लस्कर छ्यांगै खुलेको दृश्यले काठमाडौंकी समिता रानालाई मर्दी पदयात्राको सब कठिनाइ भूलाइदियो।

खुमैडाँडा पदयात्राको योजना बुनेर काठमाडौंबाट हुइँकिएकी समिताको पोखरामा पाइला नपर्दै गन्तव्य मोडियो, मर्दी हिमालतर्फ। भ्युपोइन्ट पुगेपछि उनलाई मर्दी पदयात्रा रोजेकोमा चुकचुकी भएन।

‘स्वर्ग नेपालमा बनेको छ भन्नु एकदमै सही रहेछ। यत्रो हिमालको अगाडि आएर बस्न पाउनु कल्पनाभन्दा बाहिर लागेको छ’, पदयात्राको तेस्रो बिहान माछापुच्छ्रेलाई नजिकबाट चुमेपछि तारिफका शब्द मुखारित भयो। समिताले थपिन्,  ‘तीन दिनको हिँडाइमा माथि आएका थियौं। बाटो एकदमै कठिन थियो। तर, यहाँ आएर वरपर हेरेपछि ‘वाउ’ भइराको छ। बाटोको सबै कुरा बिर्सेर रमाइलो भइराछ।’

समिताले जस्तै बिहानै ३ बजे उठेर छंगाछुर भीरको बाटो छिचोल्दाको दुःखलाई भ्युपोइन्ट पुगेपछि बिर्सिए अभिनन्दन पौडेलले। सुनौलाे घामको किरणलाई स्पर्स गर्दै माछापुच्छ्रेलगायतका हिमालको समीपमा लहसिएपछि उनलाई मर्दी पदयात्रा बडो मनमोहक लाग्यो।

‘घामको सुनौलो किरण हिमालमा ठोक्किएपछि निकै मनमोहक देखिने रहेछ। यदि ३/४ दिनको बिदा सदुपयोग गर्न चाहन्छौं भने मर्दी ट्रेक बेस्ट छ’, उनले सुझाए।

पर्यटकीय सिजन सुरु भएसँगै कास्कीको माछापुच्छ्रे गाउँपालिका- ९ मा पर्ने मर्दी हिमाल पदयात्रामा पदयात्रीको लस्कर लागेको छ। दैनिक सयौंको संख्यामा उकालो चढिरहेका छन्। हरेक दिन बिहान ३ हजार ५५० मिटरको उचाइमा रहेको भ्यूपोइन्टमा स्वदेशी र विदेशी पाहुनाको ताँती लाग्छ। स्वदेशीमा तन्नेरी पूस्ता बढी छन्।

भ्युपोइन्टबाट हिमाललाई स्पर्स गरेर धिध नमरेपछि पदयात्रीले फेरि २ घण्टा अक्करे भीरको उकालो छिचोलेर साहसिक यात्रा तय गर्छन्। ४ हजार ५ सय मिटर उचाइमा रहेको मर्दी आधार शिविरमा पुगेर हिउँमा लुटुपुट गर्दै आनन्दित हुन्छन्।

होटल नमस्ते हाइक्याम्पका सञ्चालक यामबहादुर क्षेत्रीका अनुसार सन् २००० ताका क्यापिङका लागि छिटफुट विदेशी मात्रै मर्दी पदयात्रामा उक्लन्थे। सिदिङतिरबाट भैंसी र भेडा लिएर चरनका लागि उक्लन्थे।

सशस्त्र जनयुद्धको प्रभावले क्यापिङ गर्न विदेशी आउन छाडे। शान्ति सम्झौतापछि प्रवर्द्धन थालियो र फेरि विदेशी आउन थालेको उनले बताए।

‘क्यापिङबाट टी हाउस खुल्न थाले, त्यसपछि विदेशी पर्यटकले पिकअप लिएको अवस्था हो’, यामबहादुरले सम्झिए। अहिले हाइक्याम्पसम्म सुविधा सम्पन्न होटल खुलेका छन्। भ्युपोइन्टमा दर्जनका हाराहारीमा खुलेको टी हाउसले मुटु कपाउने चिसो सिरेठोमा तातो चियाको चुस्की पिलाउँछन्।

लकडाउनपछि मर्दी हिमाल पदमार्ग नेपाली पर्यटकले गुल्जार भएको हो। अहिले त विदेशीभन्दा नेपाली धेरै उक्लने यामबहादुरले जानकारी दिए। ‘दशैं तिहारको सिजनमा त नेपाली नै बढी आउनुहुन्छ। नोभेम्बरपछि गोरा (विदेशी) हरू नै हुन्छन्’, उनले भने, ‘यतिबेला त नेपाली नै धेरै आएका छन् दशैं तिहारको छुट्टीले गर्दाखेरि।’

यसकारण मर्दी पदयात्रीले रुचाउँछन्

मर्दी पोखराबाट हिमाललाई स्पर्श गर्न आधार शिविरसम्म पुग्न छोटो दुरीमा भएकै कारण पदयात्रीले बढी रुचाएका हुन्। १० वर्षदेखि मर्दी हिमाल पर्यटक लिएर ओहोरदोहोर गरिरहने गाइड तीलक गुरुङ पनि छोटो दुरीमै भएको कारण रुचाइएकोमा सहमत छन्।
उनी भन्छन्, ‘थोरै दिनमा बटम लेबलबाट टप लेबलमा टप लेबलबाट बटम लेबलमा अपडेट गर्न सकिन्छ। यति छोटो समयमा अरू गन्तव्यमा याक देख्न मुस्किल पर्छ, यहाँ सजिलै देख्न सकिन्छ।’

उनको भनाइमा हिमालसँगै पहाडका टाकुराले पनि पर्यटकलाई लोभ्याउँछ। सिजनका बेला फरेस्टक्याम्प कटेपछि राताम्मे फूलेका लालीगुराँसले दिलमा डेरा जमाउँछ। त्यही बेलामा हिमालका लस्कर हिउँको बर्को ओडेर मुस्कुराइरहन्छन्। जंगलमा चराचुरुंगीको सुमधुर संगीत, फुलेका अनेकौं फूलहरूले चिसो सिरेठोमा न्यानो आतिथ्यता टक्राइरहेको हुन्छ।

कसरी पुग्ने मर्दी हिमाल ?

नेपाली पदयात्रीले ३ दिनमै पोखराबाट सुरु गरेर पोखरा फर्कन्छन्। विदेशी पदयात्री भने हप्ता दिनसम्म पनि उतै हराउछन्। मर्दी पुग्नलाई लो क्याप्पसम्म दुईवटा रुट छन्। त्यहाँबाट माथि भने एउटै रुट हो। फरेस्ट क्याम्पसम्म पनि दुईवटा रुट छन्। विदेशीले धेरै रुचाउने रुट पोखराबाट काँडेसम्म गाडीमा चढेर धम्पुस, प्रितम देउराली, डुडखर्क हुँदै फरेस्ट क्याम्प पुगेर पहिलो दिनको बास बस्ने।

कम हिँड्ने तर, पदयात्रामा रमाउन चाहने नेपाली पदयात्रीलाई भने कालिमाटीसम्म जीपको यात्रा गरेर जंगलैजंगल हिँड्दै फोरस्ट क्याम्पमा पुगेर बास बस्न उपयुक्त हुन्छ। कालिमाटीबाट बढीमा ४ घण्टामा फोरेस्ट क्याम्प पुगिन्छ।

अर्को कठिन र धेरै हिँड्नुपर्ने रुट हो, सिदिङदेखि लो क्याम्पसम्म। सिदिङसम्म गाडीमै पुगिन्छ। त्यहाँबाट झन्डै ४ घण्टा उकालो चढ्नुपर्छ लो क्याम्प पुग्नलाई। फोरेस्ट क्याम्प र लोक क्याम्पमा बास बसेका दोस्रो दिन बढीमा ८ घण्टाको यात्रामा हाइक्याम्प पुगेर बास बस्छन्।

तेस्रो दिन हाइक्याम्पबाट उज्यालो नहुँदै कम्तीमा पनि २ घण्टाको उकालो चढेर भ्यूपोइन्ट चढ्नुपर्छ। भ्यूपोइन्टको खास विशेषता सूर्योदय अवलोकन र सुनौला देखिने हिमाल हेर्नु हो। तसर्थ पनि सूर्योदय अगावै पुग्न नसके मर्दी यात्रामा केही छुट्नेछ। त्यहाँबाट २ घण्टा उकालो चढेर मर्दी हिमालको आधार शिविरमा पुगिन्छ। आधार शिविरमा हिउँ खेलेर हाइक्याम्प फर्कन झन्डै ३ घण्टा समय लाग्छ। तेस्रो दिनको बास बादलडाँडा वा लो क्याम्पमा बस्दा उपयुक्त हुन्छ। तर अधिकांश नेपाली पर्यटक तेस्रो दिन नै पोखरा फर्कन्छन्। कोही सिदिङ हुँदै त कोही कालिमाटी र काँडे भएर।

कति लाग्छ खर्च ?

मर्दी पदयात्रामा कति खर्च गर्ने तपाईंमै निर्भर रहन्छ। साधारण खर्च गर्ने हो भने ७ देखि १० हजार रुपैयाँले पोखराबाट मर्दी हिमालको आधार शिविर पुगेर फर्कन सकिन्छ।

जति उकालो चढिन्छ, उति नै खर्चको ग्राफ बढिरहन्छ। फरेस्ट क्याम्पमा बेलुकाको खाना, रातको बसाइ र भोलिपल्टको ब्रेकफास्ट गरेर २ हजार रुपैयाँ हाराहारी प्याकेज छ।

लो क्याम्पबाट उकालो लागेपछि एक छाक खानाको ७ सय रुपैयाँ बढी लाग्छ। हाइक्याम्पमा बेलुकीको खाना, रातको बास र ब्रेकफास्टको २ हजार २ सय रुपैयाँ शुल्क तिर्नुपर्छ। फर्कँदा बाटोमा खाना खाएको ७ सय बढी। फोरेस्ट क्याम्प वा सिदिङमा बास बसको खण्डमा अर्को २ हजार रुपैयाँ खर्च लाग्छ।

मंसिर ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्