महिला हिंसाका घटना समाजका लागि जघन्य अपराध हुन्ः प्रजिअ पोखरेल

सिमकोट – समाजमा हुने महिला हिंसाका घटना जघन्य अपराध भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताएका छन्। सोह्र दिने महिला हिंसा विरुद्धको अभियानको शुभारम्म गरिएको कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

मानवको सृष्टिदाता महिलामाथि हुने हिंसाका घटना जघन्य अपराध भएको प्रजिअ पोखरेलले बताए। अब यस्ता घटना समाजमा घट्न दिन नहुने उनले बताए।

कही कतै महिला हिंसाका घटना भए नजिकको प्रहरीलाई जानकारी गराउनसमेत उनले आग्रह गरे। रामायण कालमा सीता र महाभारतकालमा द्रौपदीमाथि भएका घटनामा हिंसा गर्नेहरू परास्त भएको बताउँदै उनले महिला हिंसालाई न्यूनीकरण गर्नुपर्ने उनले बताए।

कार्यक्रममा सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला रोकाया भामले सबै मिलेर सबै प्रकारका हिंसाविरुद्ध लाग्नुपर्ने बताइन्। उनले भएका हिंसाका घटना बाहिर ल्याएर पीडकलाई कारबाहीको दायरामा ल्याउन सके कम हिंसा कम हुने उनले बताइन्।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राजन रावत आ–आफ्नो घरबाट महिला हिंसाका घटना हुन नदिने बातावरणको तयारीमा लाग्न आग्रह गरे। शनिवार अभियानको पहिलो दिनको प्रारम्भ मैनबत्ती बालेर गरिएको छ।

गाउँपालिका कार्यालयअगाडि मैनबत्ती प्रज्वलन गर्ने कार्य गरिएको हो। कार्यक्रम सिमकोट गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको सहभागिता थियो।

मंसिर ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्