खार्पुको पक्की पुल निर्माण अझै अगाडि बढेन

सिमकोट – कर्णाली करिडोरमा पर्ने खार्पुनाथ गाउँपालिका– ५ को खार्पुमा निर्माणाधीन पक्की पुल निर्माण अझै अगाडि बढ्न सकेको छैन।

पुल निर्माणका क्रममा गत साउनमा दोजाम कर्णाली नदीमा पानीको बहाब बढेर निर्माण स्थलमा पसेको पानी हालसम्म नरोकिएको कारण निर्माण अगाडि नबढेको हो।

हिल्सा–सिमकोट सडक आयोजनाको योजना प्रमुख बेलबहादुर नेपालीका अनुसार पुल निर्माण अझै अगाडि बढ्न नसकेको हो। गत असारमा पुलको पुर्वपट्टीको पिलर ढलान भइरहेका बेला निर्माणस्थलमा दोजाम कर्णाली नदीको पानी पसेपछि निर्माण रोकिएको र हालसम्म पनि पानी पसि रहेकाले निर्माण रोकिएको हो।

पुल निर्माण स्थलमा पानी पस्न रोकिएपछि ढलान भएको पिलरको भागको चेकजाँच गरेर मात्र काम लाग्ने वा नलाग्ने पत्ता लागेपछि काम अगाडि बढाउने निधो हुनेछ। यसले गर्दा पुल निर्माण अझै अगाडि बढ्ने वा नबढ्ने निश्चित नभएको हो। फागुनमा पिलर निर्माणका लागि खाल्डो खन्दा पातो पानीको मुहान निस्कँदा एक महिना काममा ढिलाइ भएको थियो। उक्त पुल निर्माणका लागि आयोजनाले ०७८ सालमा असोज १४ गते स्वच्छन्द माउण्ट पुमरी जेभीसँग सम्झौता भएको र त्यसलगत्तै एक वर्षमा निर्माण स्थलको माटो परीक्षण भएको थियो।

यसका लागि आयोजनाले पुल निर्माण कार्यका लागि ११ करोड ८३ लाख ५४ हजार लागत लाग्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। पुल निर्माण ढिलाइले सरकारको यसै आर्थिक वर्षमा हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यलाई बाधा पुग्ने देखिएको छ।

यता, निर्माण कम्पनीले काममा तीव्रता दिइरहेको अवस्थामा पटक–पटक अवरोध आएकाले काम गर्न कठिन भएको जनाएको छ। पिलरमा पानी पस्न रोकिने बित्तिक्कै खाल्डाको पानी फाल्ने कार्य सुरु गर्ने निर्माण कम्पनीले जनाएको छ। पुल निर्माणका लागि निर्माण सामग्रीसमेत निर्माण स्थलमा ल्याइसकिएको छ।

मंसिर ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्