‘लेखनको स्तरलाई वास्तै नगरी केही डलर खर्चेर साहित्यकार बन्ने भीड लामै देखिन्छ’

लामो समयदेखि अमेरिकामा हरेक साहित्यिका गतिविधिमा सक्रिय कथाकार कृष्ण कुसुमकाे नयाँ कथा संग्रह ‘पार्श्वधुन’ केही समय अगाडि प्रकाशित भएको छ। शिखा बुक्स, काठमाण्डौंले प्रकाशन गरेको संग्रहमा नेपाल र अमेरिकी परिवेशका तेह्र कथाहरू समावेश गरिएको छ।

यसअघि कुसुमको ‘अमृतको प्याला’ गजलसंग्रह, ‘अञ्जुलीमा अभियन्ता’ संयुक्त कवितासंग्रह, ‘अञ्जुलीमा अभियन्ता- २’ संयुक्त गजलसंग्रह लगायतका पुस्तक प्रकाशित छन्। उनले ‘परदेशका कथा’ कथासंग्रह र ‘ऑंगन छोडेपछि’ संस्मरण संग्रहको सम्पादन समेत गरेका छन्।

सिभिल इन्जिनियिरिङमा स्नातकोत्तर कृष्ण कुसुम हाल अमेरिका बसोबास गर्दै आएका छन्। ‘पार्श्वधुन’ का लागि उनीसँग देशसञ्चारले गरेको कुराकानीको सम्पादित अंश:

गजल, स्मरण संग्रह र सम्पादन कार्यपछि कथा संग्रह ‘पार्श्वधुन’ ल्याउनु भयो, जो केही समयअघि सार्वजनिक भएको थियो। कस्तो प्रतिक्रिया पाइरहनु भएको छ?

मेरो लेखनको सुरुवात कविताबाट भएको हो र पुस्तक प्रकाशनचाहिं गजल संग्रहबाट सुरु भएको हो। २०६३ सालमा पहिलो पुस्तकको रूपमा गजल संग्रह प्रकाशनपछि मैले फुटकर रूपमा कथा लेखन र प्रकाशन सुरु गरेको हुँ। करिब डेढ दशकपछि संग्रहको रूपमा आएको ‘पार्श्वधुन’ को बारेमा अहिलेसम्म राम्रो प्रतिक्रिया पाएको छु। उत्साहित छु।

केही लेखक साहित्यकारले तपाईंका कथामा नौलोपन देखिएको पनि भनेका थिए। पार्श्वधुनमा तपाईंले देखेको नौलोपनचाहिं के हो?

अहिलेसम्म मैले पाएको मुख्य प्रतिक्रिया कथाको विषयवस्तुमा नयॉंपन छ भन्ने नै हो । मेरा केही अग्रज कथाकारहरू तथा समीक्षकहरूले कथा वाचनशैलीलाई पनि फरक प्रकारको छ भन्ने प्रतिकिया दिनुभएकाे छ ।

मैले देखेको नौलोपन चाहिं कथाको विषयवस्तु नै हो भन्ने लाग्छ । मूलतः पार्श्वधुन विदेशिएका नेपाली भाषीको संस्कार, संस्कृति र भावना बीचको अन्तरद्वन्द्वले भरिएको कथाहरूको संगालो हो भन्दा उचित होला।

पार्श्वधुनकाे ‘क्लोन’ शीर्षकको कथा राजनीतिक व्यङ्ग्यमा आधारित देखिन्छ। यो कथा लेखनको पृष्ठभूमि के हो?

देशको वर्तमान राजनैतिक संस्कार र देश हॉंक्ने नेताहरूको आनीबानीप्रतिको वितृष्णालाई व्यङ्ग्यात्मक रूपमा लेखिएको कथा हो- ‘क्लोन’। क्लोन कथा एउटा राजा हटाएर देशको ७६० स्थानमा नयॉं स्वरूपका राजाहरू स्थापना गर्नु मात्र व्यवस्था परिवर्तनको आशय हो त? भन्ने प्रश्न उठाउन लेखेको हुँ। फेसबुक/ट्वीटरलगायतको सामाजिक सञ्जालमा दिनानुदिन देखिने अनेक भ्यू-टावर, अनेकथरी स्तम्भ र शालिकहरू देखेपछि साह्रै नै अचम्मित बनायो! हामी के खोजिरहेछौं अनि विकासका नाममा कस्ता संरचना बनाउन होडबाजी गरिरहेछौं? भन्ने प्रश्न उठिरह्यो। साथै आफूले यी नेताहरूले चाहिं केही परिवर्तन गर्लान् कि भनेर आशा गरेका युवा (उमेरले/सोचले होइन) नेताहरूले लिने पिर्के सलामीको दृश्यहरू, अनि गाँउ-गाँउमा सिंहदरबार भन्दै आफूलाई राजा ठान्ने प्रवृतिसँगको असन्तुष्टि स्वरूप नै यो कथा सृजना भएको हो।

पार्श्वधुनमार्फत् मानवीय संवेदनाका मसिना पाटालाई न्याय गरेको छु भन्ने कत्तिको लाग्छ?

मेरो कथा-लेखनको मुख्य ध्येय नै अरूले भन्न छुटाएको कुरा मैले टिपेर टाढा-टाढासम्म पुर्‍याउन सकूँ भन्ने हो। मेरा कथाहरू मूलतः प्रवासी नेपाली जनजीवनसँग सम्बन्धित छन्। यसमा मैले अमेरिकाको १ दशकको बसाइँमा आफूले नजिकबाट संगत गरेका पात्रहरूको मसिना कुराहरू नै टिप्ने प्रयास गरेको छु। बाहिरबाट देखिने ब्ल्याक एण्ड वाइट अमेरिकी जीवनचर्याभन्दा अलि भित्र पसेर लेख्ने कोसिस गरेको छु। मानवीय संवेदनाका मसिना पाटालाई टिप्ने कोसिसमा के कति न्याय गर्न सकें भनेर छुट्याउने जिम्माचाहिँ पाठकमा नै छोडें।

तपाईंका केही कथामा महिला मनोविज्ञानलाई पनि केल्याउने कोसिस गरेको देखिन्छ, महिला पात्रलाई न्याय गरेको छु भन्ने लाग्छ ?

हो, मेरा केही कथाहरू महिला मनोविज्ञानमा लेखिएका छन्। मैले ती कथाहरू कुनै हतारोमा लेखेको होइन। सकेसम्म समय दिई अध्ययन गरेर आफूलाई पटक-पटक प्रश्न गरेर लेखेको हुँ। त्यस अर्थमा सकेसम्म न्याय गरें कि भन्ने लाग्छ। तथापि एउटा पुरुष आँखाले हेर्ने महिलाप्रतिको दृष्टिकोण र महिला स्वयंले हेर्ने दृष्टिकोण फरक पर्न पनि सक्छ। सकेसम्म न्याय नै गरौं भनेर लेखिएका कुरामा त्यस्तो केही फरक विचार आएमा म त्यसलाई पनि सकारात्मक रूपमै लिनेछु र मेरो लेखनलाई कुनै आग्रह/पूर्वाग्रहको रूपमा नबुझ्न विनम्र अनुरोध गर्दछु।

अमेरिकाको व्यस्त जीवनशैलीका बाबजुद् पनि कथा/साहित्यमा काम गर्दै आइरहनु भएको छ, समय कसरी मिलाउनु हुन्छ ?

समय निकाल्नु भनेको त व्यवस्थापनको कुरा न हो। तपाईंले केलाई प्राथमिकता राखेर जीवन चलाउनु हुन्छ, त्यसका लागि सधैं समय निस्कन्छ नि हैन र ? हो, म अमेरिकाजस्तो व्यस्त जीवनशैली भएको देशमा बस्छु। दुई वर्षको छोरा हुर्काउँदै पारिवारिक जीवन चलाइरहेको छु। साथमा जीवन जीउने आधार आफ्नो नियमित काम त छँदै छ। तर हप्तामा ४० घण्टा कामबाहेक मसँग धेरै समय बॉंकी नै हुन्छ। हप्ताको ३ दिन अफिस जान्छु। २ दिन घरबाटै काम गर्छु । शनिबार र आइतबार २ दिन त नियमित बिदा नै भैगयो। यही बीचको समयमा आफ्नो रुचि र प्राथमिकताका आधारमा पारिवारिक जीवन चलाउँदै लेखनलाई पनि अगाडि बढाउन प्रयासरत छु।

अमेरिका धेरैको सपना हुन्छ। अझ तपाईं त्यहाँको सरकारी इन्जिनियर पनि हुनुहुन्छ। इन्जिनियरलाई के कुराले छोयो भने लेख्न हौसाउँदोरहेछ?

पहिलो कुरा त म आफूलाई पहिला लेखक अनि बल्ल इन्जिनियर हुँ भन्छु। किनभने मैले स्कूले जीवनबाट नै लेख्न सुरु गरेर लेखक बन्ने सपना देखिसकेको थिएँ। स्कूलस्तरीय र जिल्लास्तरीय साहित्यिक प्रतियोगितामा सहभागी भएर पुरस्कृत भैसकेको थिएँ। इन्जिनियर त म एसएलसीपछिको इन्जिनियरिङको अध्ययनपश्चात भएको मान्छे। मेरो पहिलो पुस्तकको विमोचनमा कवि तुलसी दिवसले भन्नु भएको कुरा सम्झन्छु – एउटा मान्छे निश्चित विषय पढेर डाक्टर, इन्जिनियर, व्यवस्थापक वा लेखापाल बन्छ। तर कसैलाई पनि पढाएर कवि वा साहित्यकार बनाउन सकिन्न। म पनि पढेर इन्जिनियर हुनुभन्दा पहिलाबाटै लेखक बन्न प्रयास गरेको व्यक्ति भएकोले लेखन चाहिं मेरो स्कूले जीवनको सपनाको निरन्तरता हो। अब बाँकी रह्यो के कुराले छोयो भने लेख्न हौस्याउँछ भन्ने प्रश्न। मेलै नजिकबाट संगत गरेका मेरा जीवन र समाज वरपरका पात्रहरू र तिनका मनोदशाले मलाई लेख्न उत्प्रेरित गर्छ।

नेपाली साहित्यिक पुस्तकको बजार अमेरिकामा कार्यरत नेपालीहरू माझ कति लोकप्रिय छ ?

यस्तो प्रश्नको जवाफ दिँदा आफूले संगत गरेका मान्छेहरूको अनुभवमा भन्न सकिने कुरा हो जस्तो लाग्छ। म जस्तो संगतमा छु , उहॉंहरू सबै अध्ययनशील नै हुनुहुन्छ। हामी समय समयमा समकालीन नेपाली साहित्यको विषयमा छलफल गर्नुका साथै कुनै पुस्तकमाथि आफ्नो पठन अनुभव पनि आपसमा सुनाउँछौं। यसरी मैले आफू वरपरको साथीहरूलाई आधार मानेर जवाफ दिँदा त नेपाली साहित्यको बजार राम्रो नै देख्छु। फेरि यो नै सम्पूर्ण रूपमा सही जवाफ होइन। धेरै नेपालीहरूलाई पुस्तक अध्ययन गर्ने रुचि र समय नहुन पनि सक्छ। तर यहाँ हुने साहित्यिक गतिविधि र जमघटको आधारमा भन्नु पर्दा सबै पुस्तकहरू नभएपनि हरेक साल चर्चामा आएका पुस्तकहरूका पाठक भने उल्लेखनीय रूपमा नै हुने गरेको भेटेको छु।

पार्श्वधुनमार्फत् आख्यानमा हात हालिसक्नु भएको छ। र, अहिले डायस्पोरा साहित्यमा उपन्यास लेख्नेको बाढी आएको छ। तपाईं पनि त्यो लाइनमा हुनुहुन्छ?

तपाईंको प्रश्नमा प्रवासी नेपाली साहित्य लेखनप्रति मीठो व्यग्यं भेंटें। र यो यथार्थता पनि हो। यद्यपि यो प्रश्नको उद्देश्य त्यो नहोला। प्रवासी नेपाली साहित्य आजकल यताको जनजीवन जस्तै साह्रै हतारमा छ। आजबाट लेख्न थाल्यो, भोलि पर्सिमै किताब आउनुपर्‍याे, भलै त्यो किताबको उपस्थितिले के-कस्तो महत्त्व राख्ला कसैलाई वास्ता छैन तर किताब निकाल्नुपर्‍याे। लेखनको स्तर, विषयको प्रभावकारितालाई वास्ता नगरी केही डलर खर्चेर साहित्यकार बन्ने भीड लामै देखिन्छ।

मलाई त्यसरी साहित्यकार बन्ने हतारो छैन। हतारो हुँदो हो त मेरो कथासंग्रह १ दशकअघि नै पनि तयार थियो। त्यसको पाण्डुलिपिसँग आफैं असन्तुष्ट भएर मैले अहिले आएर संग्रह निकालें। मैले यो प्रसंग किन निकालेको भन्दा म फेसनको लहडमा वा साहित्यकार देखिने होडमा लेख्दिनँ र त्यसरी लेखेर प्रकाशन गर्न हुँदैन भनेर आलोचनात्मक चेत राख्ने मान्छे हुँ। पार्श्वधुन प्रकाशनपछि विज्ञ पाठकहरू, अग्रज साहित्यकारहरू तथा समीक्षकहरूको प्रतिक्रियापश्चात आफूलाई पुर्नः परिमार्जनसहित फेरि अरू कथामा काम गर्न मन छ। अब यो पुस्तक पछाडि नै तुरुन्त उपन्यास लेख्ने बाढीमा फाल हाल्ने योजना छैन।

मंसिर १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्